एमाले लक्षित गदै सञ्चारमन्त्रीले भने–चुनावको विरोध गर्ने दलसमेत दर्ता भइसके, अब शङ्का नगरौँ
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरु समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका हुन् ।
कुनै दलको नामै नलिएर निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेको भन्दै एमालेले दल दर्ता गरेको प्रति इकित गरेका थिए । उनले नामै नलिएर एमाले निर्वाचन आयोगमा दर्ता भएकाले निर्वाचनमा आशङ्का नगर्न आग्रह गरे । मन्त्री खरेलले मतदाता नामावली सङ्कलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिइसकेको र सुरक्षा योजना समेत तयार भइसकेको जिकिर गरे । प्रवक्ता खरेलले अहिलेको सरकार जेन–जी आन्दोलनको जगमा बनेकाले प्रधानमन्त्रीले जनेजी युवाहरुलाई प्राथमिकतामा राखेको बताए ।
व्यस्तताका कारण प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा जेन–जी युवाहरुसँग भेट्न नसकेको भन्दै उनले जेनजीलाई वेवास्ता नगरिने बताए ।
त्यस्तै मन्त्रिपरिषद्का निर्णय सुनाउँदै खरेलले नेपाल पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत भएको बताए ।
बैठकले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार बिकाससँग सम्बन्धित विषयमा अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन,समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय भएको बताए ।
निर्वाचन प्रयोजनका लागि सुरक्षा योजना तयार गरेर सम्बन्धित निकायका पठाइसकेको उल्लेख गर्दै उनले चुनावको वातावरण बनेर धेरै अगाडि बढिसकेको दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्: