Bagmati Samachar Logo

टुक्रियो जसपा, राजेन्द्र श्रेष्ठसहितका ६ नेताद्वारा नेकपासँग एकता गर्ने घोषणा

काठमाडौँ । जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताले पार्टी छोडेका छन् । नेताहरुले पटक पटक कार्यकारिणी बैठक बोलाउन भन्दा पनि नबोलाएपछि फरक बाटो रोज्नुपरेको बताएका छन् ।

आइतबार अध्यक्ष अशोक राईलाई पत्र लेख्दै श्रेष्ठसहितका ६ नेताले एकीकरण र ध्रुवीकरणमा जोड दिँदै फरक बाटो रोजेको बताएका छन् ।

‘तर दिनानुदिन काम गर्नुपर्ने कार्यकारिणीको स्थगित भएको बैठक हालसम्म नडाकिएको हुँदा चालु केन्द्रीय कार्यकारिणी समितिको बैठकको कार्यसूची नं.१ (ख) को कार्यसूचीलाई टुङ्गोमा नपुर्‍याएकोमा असहमत रहँदै जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२–०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूसमेत खतरामा पर्नसक्ने भएकाले विचारमा सामीप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिहरूको रक्षा र थप उपलब्धि प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ’, ६ नेताले अशोक राईलाई लेखेको पत्रमा भनिएको छ ।

उनीहरूले लेखेको पत्रमा थप भनिएको छ, ‘हामी तपसिलका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ–आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

अध्यक्ष राईलाई जानकारी गराएको पत्रमा श्रेष्ठसहित उपाध्यक्ष रणध्वज लिम्बु (कन्दङ्वा),उपाध्यक्ष परशुराम बस्नेत,केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणी देवान,केन्द्रीय विज्ञ परिषदका अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् । जसपाको केन्द्रीय कार्यकारिणी १५ सदस्यीय रहेपनि केही समययता बैठकमा थोरै संख्यामा मात्र उपस्थित हुने गरेका थिए ।