Bagmati Samachar Logo

जनार्दन शर्माले भने– प्रगतिशील लोकतान्त्रिक पार्टी केही नेता मात्रै उत्पादन गर्ने थलो बन्दैन

काठमाडौं । जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी केही नेता मात्रै उत्पादन गर्ने थलो नहुने बताएका छन् । राष्ट्रिय सभागृहमा भएको पार्टी एकता घोषणासभामा दलको उद्देश्यमाथि प्रकाश पार्दै उनले विकृत राजनीतिको अन्त्य गर्दै समतामूलक राष्ट्र निर्माणका लागि अगुवाइ गर्ने स्पष्ट पारे ।

नेता शर्माले यस पार्टीबाट राजनीतिक पुनर्संरचनाको सुरुवात गर्ने जिकिर गरे । उनले समग्र गतिहीन अवस्थाको राजनीतिक संरचनालाई गति प्रदान गर्ने र त्यसको साधनको रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी हुने विश्वास व्यक्त गरे ।

उनले पार्टीको नेतृत्व सही नहुँदा समाज भ्रष्टीकरणतर्फ उन्मुख भइरहेको भन्दै यस पार्टीले उन्नत मोडेलको समाजवादको कल्पना गरेको समेत बताए । पार्टी सुदृढ लोकतन्त्रको पक्षमा उभिएको हुँदा लोकतन्त्र बलियो बनाउन नागरिकको अधिकार सुनिश्चित गर्दै अघि बढ्ने दाबी पनि उनले गरे ।

शर्माले स्रोतलाई केन्द्रीकृत नभए विकेन्द्रित गर्नेतर्फ लाग्ने र सबै नागरिकलाई आर्थिक रूपमा कसरी सवल बनाउनेतर्फ आफ्नोफ पार्टीको धेय हुने जिकिर गरे । उनले नियन्त्रित लोकतन्त्रले भ्रष्टीकरणतर्फ धकेलेको भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टी सामूहिक नेतृत्वमा चल्ने जानकारी दिए ।