एमाले नेतालाई बयानमा बोलाए १ लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान लिन बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने बताएका छन् । नेसनल भोलेन्टियर फोर्सको घोषणासभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानका लागि बोलाउन बेला–बेला हल्ला फिँजाएको भन्दै यदि त्यसो भए एक लाख मानिस सिंहदरबार प्रवेश गर्ने चेतावनी दिए ।
भदौ २४ गतेको अराजक जत्थाजस्तो एनभीएफले तोडफोड र आगजनी भने नगर्ने उनले बताए । ‘हामी भदौ २४ गतेका अराजकहरू जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौँ’, बस्नेतले भने, बरु फूलमाला लगाएर सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूलाई सिंहदरबाट बिदाइ गर्नेछौँ ।’
बस्नेतले १ लाख जनताको उपस्थितिमा सिंहदरबारभित्रै आफूहरूले आमसभा आयोजना गर्ने पनि बताए । नेपोबेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेकोमा उनले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकोले आफूतिर आउनसक्ने आरोपलाई अन्यत्र पन्छाएको जिकिर गरे ।
‘अहिलेको सरकारका प्रधानमन्त्री, मन्त्री र सरकारसम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्’, बस्नेतले भने, ‘नेपोबेबीका ड्याड मम्ले शासन चलाएका छन् । यो जायज छैन ।’
एनभीएफको घोषणा कार्यक्रम अहिले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बबरमहलमा भइरहेको छ । पार्टीको नीति, नेतृत्व, प्राकृतिका प्रकोपमा राहत तथा उद्धारका लागि यो फोर्स परिचालन हुने बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्: