Bagmati Samachar Logo

प्रधानमन्त्री कार्कीमाथि ओलीको आक्रोश–अझै ठूलो विद्रोह हुनसक्छ रे, त्यो भन्या के हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको नाममा देशमा उपद्रो मच्चाउन कसैले नपाउने बताएका छन् । नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै पार्टीको युवा भेलामाथि अवरोध खडा गरेको भन्दै उनले चर्को असन्तुष्टि जनाए ।

उनले भने, ‘नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी काम भए, बिथोल्ने र आतङ्क मच्चाउने काम भयो, त्यो अहिलेसम्म जारी छ, अस्ति एमालेमाथि ढुङ्गा हान्न आए, विमानस्थल र प्रहरीमाथि ढुङ्गा हान्न आए, त्यस्ता क्रियाकलाप सरकारले अविलम्ब छिटो रोक्नुपर्छ ।’

सरकारले चुनाव गर्छु भने पनि देशभित्रै नेताहरूलाई निषेध गरेर हुन नसक्ने बताए । उनले प्रधानमन्त्रीले १२५ दलसँग वार्ता राखेर कांग्रेस एमालेको अपमान गरेको टिप्पणी गरे।

उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि आक्रोश पोखे।

उनले भने, ‘यो सरकार संविधान अनुसार बनेको छैन भन्ने हो भने त झन् अर्को विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? जनतालाई धम्काएर, तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेको, त्यो के ? फेरि आगो लगाउने, तोडफोड गर्ने, लुटपाट हो ? त्यो अनुमान हो कि योजना हो ? योजना हो भने सपना नदेख्नुस् ।’

काठमाडौंको बबरमहलमा एनभीएफ घोषणासभालाई सम्बोधन गर्दै ओलीले लुटपाट र हिंसा रोक्न नयाँ संगठन गठन गरिएको बताए ।

उनले अराजकता रोक्न संगठनका सबै सदस्यहरूले अनुशासनको पूर्ण पालना गरेर काम गर्ने बताए । साथै, ओलीले राक्षसी राज रोक्न एनभीएफले काम गर्ने बताए ।