शान्ति सम्झौता १९ वर्ष पूरा ,प्रचण्डको सन्देश– बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीको
काठमाडौं । विस्तृत शान्ति सम्झौता (डीपीए) हस्ताक्षर भएको १९ वर्ष पुगेको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सन्देश जारी गर्दै शान्ति प्रक्रियामा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन् ।
सन्देशमा तत्कालीन नेकपा (माओवादी)का अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको शान्ति सम्झौताले नेपालमा सामन्तवादको अन्त्य गर्दै संघीयता, समावेशिता र धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा निर्णायक भूमिका खेलेको उल्लेख गरिएको छ । उनले शान्ति सम्झौतामार्फत उठान भएका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिसम्बन्धी मुद्दाहरू पूरा नभएसम्म सम्झौताको पूर्ण कार्यान्वयन सम्भव नहुने बताए ।
दाहालले जनयुद्धका शहीद, बेपत्ता, घाइते, अपाङ तथा परिवारजनप्रति श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरण गरेका छन् ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौताप्रति आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेको दाहालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: