जसपाको अशोक राई पक्षले भन्यो– हामी कसैसँग एकता गर्दैनौँ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने र नगर्ने पक्ष दुई धारमा विभाजित भएका छन् । ‘एकतामा जानुपर्छ’ भन्नेमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू छन् भने एकतामा नजानेमा महासचिव मोहम्मद इश्तियाक राई, उपमहासचिव प्रदीपकुमार यादवलगायतका नेताहरू रहेका छन् ।
इश्तियाक राईले ‘मन लागेका साथीहरू कहीँकतै जाने कुरा हुन सक्छ, तर पार्टी कसैसँग पनि एकता गर्ने’ बताए । उनले भने, ‘छलफल गर्न वार्ता टोली बनाएको हो । तर नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने भन्ने छैन । ध्रुवीकरणको समयमा आउनेरजाने कुरा चलिरहन्छ । हाम्रो पार्टी तत्काल कसै पार्टीसँग एकता गर्दैन ।’
दुई पार्टीबीच एकताको लागि छलफल जारी रहेको नेपाली कम्युनिस्ट पार्टीका नेता देवप्रसाद गुरुङले बताए । उनले भने, ‘हामी पार्टी एकता गर्ने भनेर वार्ता छलफल गरिरहेका छौँ । हिजो पनि भेटघाट भयो । तर, एकतामा को–को आउनुहुन्छ, त्यो उहाँहरूले जान्ने कुरा हो । हामीहरू जसपासँग एकता गर्ने भनेर नै संवादमा छौँ ।’
नेपाली कम्युनिस्ट पार्टीको वार्ता टोलीका अर्का नेता प्रकाश ज्वालाले एकताको लागि सहमतिपत्र तयार भएको बताए । उनले भने, ‘राजेन्द्र श्रेष्ठजी र म बसेर सहमतिपत्र बनाइसकेका छौँ । नेतृत्वालाई र दुवैतर्फका वार्ता टोलीलाई बुझाएका छौँ । आज भोलि सहमतिपत्रमा सल्लाह सुझाव आएपछि भोलिसम्म टुंगिएला ।’ जसपाबाट कति जना आउने हुन त्यो भने अहिले नै सुनिश्चित नभएको ज्वालाले बताए ।
वैशाख २०८१ मा उपेन्द्र यादवले नेतृत्वको गरेको जनता समाजवादी पार्टी विभाजन भएको थियो । सात जना सांसदहरूलाई साथमा लिएर अशोक राईले पार्टी विभाजन गरेका थिए ।
अहिले उक्त पार्टी विभाजनको संघारमा रहेको छ । एक पक्षले नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने अन्तिम तयारी गरिरहेको छ भने अर्को पक्षले कसैसँग एकता नगर्ने अडान लिएको छ । जबकि, माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तामा नेकपा सचिवालय सदस्य देव गुरुङ, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, बेदुराम भुसाल र जसपाबाट राजेन्द्र श्रेष्ठ, परशुराम बस्नेतलगायत नेता सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्: