दोषीलाई कारबाही गर्ने आश्वासनपछि सिमरामा जेन–जीको आन्दोलन स्थगित, भोलि वार्ता
काठमाडौं । बाराको जितपुरसिमरामा जेन–जी युवाहरूले आन्दोलन स्थगित गरेका छन् । दोषीलाई कारबाही गर्ने स्थानीय प्रशासनको आश्वासनपछि उनीहरूले राजमार्गमा गरेको अवरोध हटाएका छन् ।
प्रशासनले आज दिउँसो नै वार्ताका लागि बोलाए पनि युवाहरू राजमार्गमै बसिरहेका थिए । शुक्रबार वार्तामा बस्ने सहमति भएपछि आन्दोलन तत्कालका लागि रोकिएको जेन–जी समूहका संयोजक सम्राट (साइकुल) उपाध्यायले बताए ।
नेकपा (एमाले) का नेताको स्वागत तथा विरोधका क्रममा भएको झडपपछि बुधबारदेखि सिमरा उपमहानगरपालिका–२ को स्थिति तनावग्रस्त बनेको छ । आज पनि प्रहरी र जेन–जी युवाबीच झडप भएको थियो । झडपमा प्रहरीतर्फ दुई प्रहरी निरीक्षकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जेन–जी पक्षका लिलाहरी सापकोटा, श्री चौधरी, सन्देश घिमिरे र निसान श्रेष्ठ घाइते भएका छन् । घिमिरे र श्रेष्ठको अवस्था गम्भीर देखिएपछि नारायणी अस्पताल, वीरगञ्ज रेफर गरिएको छ । स्थानीयका अनुसार झडप सुरु हुनासाथ ठूलो संख्यामा युवाहरू सडकमा ओर्लिएर प्रहरीमाथि जाइ लागेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
अवस्था लगातार बिग्रिँदै जाँदा जिल्ला प्रशासन कार्यालयले सिमरा चोक, पथलैया, परवानीपुर, औद्योगिक करिडोरलगायत आसपासका क्षेत्रमा राति ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेको छ । कर्फ्युका कारण सबै प्रकारका सवारी सञ्चालन ठप्प छन् ।
यसैबीच, झडपमा घाइते भएका जेन–जी समूहका संयोजक उपाध्यायले एमाले नेताहरूविरुद्ध किटानी जाहेरी दिएको आधारमा वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का कैमुद्दिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जना एमालेबाट निर्वाचित हुन् ।
बुधबार बिहान सिमरा चोकमा एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत गर्न आएका कार्यकर्ता र विरोधमा उत्रिएका जेन–जी समर्थकबीच झडप भएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले घटनाको अनुसन्धान जारी रहेको र दोषी जोसुकै भए पनि कारबाही हुने बताए ।
जेन–जी समूहका संयोजक उपाध्यायले आफूहरूको शान्तिपूर्ण विरोधमा एमाले कार्यकर्ताले आक्रमण गरेको दाबी गरेका छन् । यता, एमाले जितपुरसिमरा कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहले विरोधको अधिकार भए पनि नेताको कार्यक्रम रोकेर ‘निषेधको राजनीति’ भइरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: