बाराको सिमरा शान्त नभएपछि प्रधानमन्त्रीले डाकिन् सुरक्षा परिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बारा घटना र निर्वाचनको तयारीसहितका विषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले आजै २ बजेपछि बस्नेगरी सुरक्षा परिषद्को बैठक बोलाएको जानकारी उनको सचिवालयले दिएको छ ।
बैठक सिंहदबारस्थित परिषद्को सचिवालयमा बस्दै छ । ‘सरकारले निर्वाचनको तयारीलाई अगाडि बढाइरहेको बेलामा बारामा हिजो भएको तनाव, निर्वाचनको तयारी र अब कसरी अगाडि बढ्ने भनेर छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो,’ उनको सचिवालयले भन्यो ।
बाराको सिमरामा जेन–जी र एमालेका कार्यकर्ताबीच बढेको तनावले कफ्यु नै लगाउनुपरेको थियो । आज पनि सो क्षेत्रमा तनावको स्थिति आएको छ ।
त्यसैले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले नियमित छलफल गर्न लागेकी हुन् । यसअघि बुधबार राति पनि उनले परिषद्को बैठक राखेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: