Bagmati Samachar Logo

हिजै लिखित राजीनामा दिएका थिए कडरियाले

काठमाडौं । अनेरास्ववियुका निवर्तमान अध्यक्ष सुजन कडरियाले आइतबार नै राजीनामा दिएको खुलेको छ । यसअघि फेसबुकमा राजीनामा दिएका उनले पछि फिर्ता लिएका थिए । उनले जेन–जी आन्दोलनका क्रममा भावनामा परेर राजीनामा दिएको बताएका थिए ।

गत आइतबार गुण्डु भेलामा वर्तमान महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने बारे नेताहरूबीच सहमति जुटेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले धामीलाई अध्यक्ष बनाउन निर्देशन दिएलगत्तै कडरियाले राजिनामा दिने सोच बनाएका थिए ।

सोमबार बसेको अखिलको पदाधिकारी बैठकको प्रमुख अतिथि रहेका अखिल इन्चार्ज एवं एमाले नेता किशोरविक्रम मल्लले कडरियाले हिजै राजीनामा बुझाएको जानकारी गराएको अखिलका एक पदाधिकारीले जानकारी दिए । कडरियाले समेत सोसल मिडियामार्फत उक्त कुराको जानकारी दिएका छन् ।

अखिलको पदाधिकारी बैठकले महासचिव धामीलाई अध्यक्ष र उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको छ ।