Bagmati Samachar Logo

प्रधानमन्त्री कार्कीले भनिन्– नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा आज ९शनिबार० सरिक भएकी छन् ।

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौंमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यहरूमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

उनले हालसालैको जेन–जी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भनिन्, ‘यस आन्दोलनले हाम्रो युवापुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो । मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी २१ फागुनमा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’

अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई उनले अत्यन्त मूल्यवान् भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गरिन् ।

नेपाल र अस्ट्रेलियाका बीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रहरूमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो ।

उनले भनिन्, ‘नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ । शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुगेको छ ।’

नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उनले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताइन् ।

उनले भनिन्, ‘नेपालले क्षेत्रीय तथा विश्व शान्ति र स्थिरतालाई अत्यन्त महत्त्व दिन्छ र विश्वलाई सुरक्षित तथा समृद्ध राख्न अस्ट्रेलियाले खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गर्दछ ।’

हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले थपिन्, ‘अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली हाम्रो दुई देशबीच जीवन्त सेतु बनेका छन्, जसले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ ।’

पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उनले प्रसन्नता पनि व्यक्त गरिन् । ‘अस्ट्रेलियासँगको बढ्दो व्यापार र लगानीका लागि हामी कृतज्ञ छौँ,’ उनको भनाइ थियो, ‘नेपाल सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्तति हुने लक्ष्य पूरा गर्न द्रुतगतिले अघि बढिरहेको छ । यस महत्त्वाकांक्षी राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रदान भइरहेको अस्ट्रेलियाको निरन्तर सहयोग हामी कृतज्ञतासाथ स्वीकार गर्छौं ।’

नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिएको योगदानप्रति प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गरिन् । साथै, जोस्टनको समर्पण तथा व्यक्तिगत संलग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको उनले बताइन् ।

राजदूत लियान जोन्स्टन कार्यकाल समाप्त भई अस्ट्रेलिया फर्कंदै छन् ।