प्रचण्ड सचिवालयको स्पष्टीकरणः महिला एकतिहाइ पुर्याउन केन्द्रीय समितिमा १३ जना थपिएको हो
कामठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दल दर्ताको प्रयोजनार्थ बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएको भन्दै स्पष्टिकरण दिएको छ ।
निर्वाचनका लागि दल दर्ता अनिवार्य भएपछि आयोगमा बुझाइएका विवरण सार्वजनिक भएपछि अनावश्यक भ्रम सिर्जना गरेको तर सत्य त्यो नभएको प्रचण्डको सचिवालयले बताएको छ ।
सचिवालयले भनेको छ , ‘नेपाली कम्युनिस्ट पार्टी निर्माणका लागि सुरू भएको वाम एकता प्रक्रियाबारे विभिन्न भ्रम फैलिएको छ । एकीकृत समाजवादी लगायत एक दर्जनभन्दा बढी वाम विचारधाराका पार्टी एकीकृत भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेको छ । पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा संरचनाहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् । त्यसका लागि गृहकार्य जारी छ ।’
सचिवालयका अनुसार दल दर्ताका लागि आयोगमा पेश गरिएको सूची एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको हो । कानुनअनुसार एक तिहाइ महिला सदस्य अनिवार्य समावेश गर्नुपर्ने भएकाले तत्काल उपलब्ध भई हस्ताक्षर गर्न पुगेका १३ जना महिला सदस्यको नाम सूचीमा थपिएको बताइएको छ ।
अहिले आयोगमा बुझाएको नामका बारेमा धेरै चर्चा हुनु ठिक होइन्, विधानअनुसार पूर्ण संरचना पछि नै टुंगो लाग्ने सचिवालयले बताएकोछ ।
सचिवालयले भनेको छ, ‘आयोगमा पेश गरिएको सूचीबारेका कुनै पनि भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा हार्दिक अनुरोध छ।’
प्रतिक्रिया दिनुहोस्: