Bagmati Samachar Logo

महाधिवेशन विवादले कांग्रेसमा विभाजनको अवस्था आउनसक्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्न नसकेमा पार्टी विभाजनको अवस्था आउनसक्ने बताएका हुन्।

उनले विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको जानकारी दिए। डा। कोइरालाले उक्त हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया सुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको भन्दै केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए। बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शङ्का नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ, त्यसमा हस्ताक्षर प्रमाणिकरण सुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो।’

पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गी भूमिका खेलिरहेको पनि नेता कोइरालाले बताए।