दिल्लीमा कार विस्फोट, ८ जनाको मृत्यु, २४ घाइते
काठमाडौं । भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परी ८ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।
विस्फोटको कारण खुल्न सकेको छैन, तर यस घटनापछि दिल्लीसहित मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ ।
प्राप्त जानकारी अनुसार सोमबार साँझ त्यहाँको ६ः५६ बजे फोर्ट मेट्रो स्टेसनको गेट नम्बर १ नजिकैको पार्किङमा रोकिराखिएको एउटा इको कारमा विस्फोट भएको थियो । विस्फोटपछि लागेको आगो तीव्र गतिमा फैलिएको थियो, जसका कारण नजिकै पार्क गरिएका थप ३ वटा गाडीहरू पनि जलेर नष्ट भएका छन् ।

यो घटनामा धेरै व्यक्ति घाइते भएका छन् भने केहीको मृत्यु भएको खबर पनि आएको छ । दिल्ली पुलिस आयुक्त सतीश गोलचाले सञ्चारमाध्यमलाई मृत्युको पुष्टि गरेका छन् तर मृतकको सङ्ख्या भने बताएका छैनन् । भारतीय संचारमाध्यमका अनुसार मृतकको संख्या ८ पुगेको छ भने घाइतेको संख्या २४ बताइएको छ ।

सीआरपीएफका डीआईजी किशोर प्रसाद घटनास्थलमा पुगेका छन् र यसबारे केही भन्नु जल्दबाजी हुने बताएका छन् । दिल्ली पुलिस आयुक्त सतीश गोलचाले सञ्चारमाध्यमलाई बताएअनुसार लाल किला मेट्रो स्टेशन नजिकैको रातो बत्तीमा साँझ ७ः५६ बजे सुस्त गतिमा गुडिरहेको एउटा सवारी साधन रोकिएको थियो जसमा विस्फोट भएको हो र त्यस समय गाडीमा यात्रुहरू पनि थिए । उनले भने, ‘यो विस्फोटबाट वरपरका गाडीहरूलाई पनि क्षति पुगेको छ । सूचना प्राप्त हुनासाथ दिल्ली पुलिस, एफएसएल, एनआईए र एनएसजीका टोलीहरू घटनास्थलमा पुगिसकेका छन् र अवस्थाको जाँच गरिरहेका छन् । यो विस्फोटको अनुसन्धान भइरहेको छ र चाँडै नै यसको मूल्याङ्कन गरेर जानकारी दिइनेछ ।’

बीबीसी अनुसार लाल किला मेट्रो स्टेशनको गेट नम्बर एक नजिकै कारमा विस्फोट भएको कल प्राप्त भएको थियो । विस्फोटपछि करिब छवटा गाडीमा आगो लागेको थियो । यसैगरी वरपर खडा गाडीहरूलाई पनि क्षति पुगेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार क्षेत्रलाई घेराबन्दी गरिएको छ । भने समाचार एजेन्सी एएनआईका अनुसार केही घाइतेहरूलाई एलएनजेपी अस्पताल लगिएको छ ।
स्थानीय बासिन्दा राजधर पाण्डे नामका व्यक्तिले समाचार एजेन्सी एएनआईलाई बताए, ‘हामीले आगोको ज्वाला देख्यौं।।। म आफ्नो छतबाट हेरेको थिएँ । त्यसपछि तल झरेर हेर्न आएँ कि के भएको रहेछ । अत्यन्त ठूलो आवाज आएको थियो । भवनको झ्याल हल्लियो । मेरो घर गुरुद्वारानजिकै छ ।’
वली उर रहमान नामका एक स्थानीय पसल सञ्चालकले समाचार एजेन्सी एएनआईलाई बताए, ‘विस्फोट हुँदा म पसलमा बसेको थिएँ । अचानक यस्तो ठूलो विस्फोट भयो जस्तो मैले आजसम्म सुनेको थिएन, विस्फोटको आवाज सुनेपछि म तीन पटक लडेँ । त्यसपछि वरपरका सबै मानिस भाग्न थाले ।’
बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्: