Bagmati Samachar Logo

पुराना शक्तिले टाउको उठाउन खोज्दै छन्, प्रतिक्रान्तिको खतरा हुन सक्छ : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पुराना शक्तिहरू पुनः टाउको उठाउने प्रयासमा रहेको बताएका छन् ।

चितवनमा जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले परिवर्तनका संवाहक र जेन–जी पुस्ताको शक्ति एउटै मोर्चामा नउभिए पुरानै दलहरू पुनः सत्तामा फर्किने र प्रतिक्रान्तिको खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका हुन् ।

अर्यालले संविधानको कम स्वीकार्य धाराबाट ६ महिनाभित्र निर्वाचन गराउने उद्देश्यसहित बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई समयमै निर्वाचन गराउन सबै दलहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताए ।

शीर्ष दलहरूको अकर्मण्यताका कारण अहिलेको राजनीतिक जटिलता उत्पन्न भएको आरोप लगाउँदै उनले भने, ‘पुराना दलहरूलाई त हामीले २०८४ सालको निर्वाचनबाट तह लगाउँछौँ भनेकै हौँ, तर दुई वर्षअघि नै रातो क्रान्तिका माध्यमबाट जेन–जीहरूले सरकार परिवर्तन गरिदिए ।’

उनले रास्वपाले अघि सारेको ‘नीलो क्रान्ति’ अझै जारी रहेको पनि उल्लेख गरे । उनले भने, ‘यो पुस्ताको मात्र होइन, मुद्दाको पनि कुरा हो । रास्वपा जेन–जीमैत्री पार्टी हो ।’

एउटा नयाँ पुस्ताले तय गरेको एजेन्डा र मूल्यसँग पुराना दलहरू पराजित भइसकेको जनाउँदै उनले रास्वपा नवपुस्ताका माग र दृष्टिकोणसँग उभिएको दल भएको दाबी गरे । उनका अनुसार संसदमा रहेका रास्वपा सांसदहरूले पनि यही दृष्टिकोणलाई पुष्टि गरेका छन् ।

त्यसैगरी, उनले हालको सरकारले २३ भदौको घटनाबारे छानबिन अघि बढाउनुपर्ने रास्वपाको आधिकारिक धारणा रहेको स्पष्ट पारे । उनले भने, ‘निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्नु राज्यको दायित्व हो । यसबाट राज्यले जनविश्वास गुमाउनु हुँदैन ।’

संविधानले निर्धारण गरेको बाटोबाट विचलित नहुने र समयमै निर्वाचन गरेर देशलाई सही दिशामा लैजान सबै दलको भूमिका आवश्यक रहेको औँल्याउँदै उनले थपे, ‘हालको सरकारले पाएको सीमित कार्यादेश परिस्थितिको बाध्यात्मक उपज हो ।