कथित सल्लाहकारहरूले अध्यक्ष ओलीलाई सीमित घेराभित्र राखे : ईश्वरी घर्तीमगर
काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य ईश्वरी घर्तीमगरले कथित सल्लाहकारहरूले पार्टी नेतृत्वलाई सीमित घेराभित्र राखेको गुनासो गरेकी छिन् । शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकमा धारणा राख्ने क्रममा उनले यथार्थताभन्दा बेग्लै रिपोर्टिङ र गलत सूचना दिई भ्रम फैलाउने कार्य गरेको आरोप लगाइन् ।
उनले भनिन्, ‘यस्तो गलत परिपाटीले पार्टीका इमान्दार र देशभक्त कार्यकर्ताहरूको मनोबल खस्किएको यथार्थतालाई स्विकार्दै नेतृत्वले सबैसँग समान व्यवहार गर्नसकेमा नै नेतृत्वप्रतिको विश्वास अभिवृद्धि भई पार्टी बलियो हुने कुरामा हेक्का राख्न सक्नुपर्ने हुन्छ ।’
उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना मुडभेट नहुने गरी सडक आन्दोलनभन्दा कानुनी र दलहरूबीचको राजनीतिक संवादबाट खोज्न आग्रह गरिन् । ‘निर्वाचनको पनि तयारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले निराश भएका जनता, कार्यकर्ता र पार्टी पङ्क्ति उत्साहित हुने जनपरिचालनका कार्यक्रम तय गरौँ’, घर्तीमगरले भनिन् ।
उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा जेन–जी पुस्तासहित युवाको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रतिनिधि छनोटदेखि कमिटीमा समावेश हुने गरी मापदण्ड बनाउने नीति तय गर्न र साथै महाधिवेशनबाट नयाँ कमिटी चयन गर्ने अधिकार निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधिलाई दिन माग गरेकी छिन् ।
‘टिकेप्रथाले पार्टी पुनर्गठन र सुदृढीकरण हुन सक्दैन, झन कमजोर हुन्छ भन्ने कुरा बुझौँ,’ उनले भनिन, ‘पछिल्लो समय नेकपा एमाले र नेताहरूप्रति आम नागरिकको बुझाइ कस्तो छ भन्ने कुरा सामाजिक सञ्जालका कमेन्टहरू, सार्वजनिकस्थलमा गरिने टिप्पणीहरूलाई समेत मनन् गर्दै अघि बढ्न म अपिल गर्दछु ।’
उनले अध्यक्ष ओलीसहित सबैले अब एमालेको वर्तमान अवस्थाबारेको सत्य र यथार्थतालाई स्विकार्दै अघि बढ्नु आवश्यक रहेको तर्क गरेकी छिन् ।
यस्तो छ घर्तीमगरले बैठकमा प्रस्तुत गरेको धारणा
१. विघटित प्रतिनिधिसभा पुनर्स्थापना मुडभेट नहुने गरि सडक आन्दोलन भन्दा कानुनी र दलहरुबिचको राजनीतिक संबादबाट खोजौँ । निर्वाचनको पनि तयारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले निरास भएका जनता, कार्यकर्ता र पार्टी पंक्ति उत्साहित हुने जनपरिचालनका कार्यक्रम तय गरौँ।
२. पार्टीको आसन्न एघारौं महाधिवेशनमा जेन जि पुस्ता सहित युवाको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रतिनिधि छनौँटदेखि कमिटिमा समावेश हुने गरि मापदण्ड र निति तय गरौँ। साथै महाधिवेशनबाट नयाँ कमिटी चयन गर्ने अधिकार निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधिलाई दिदा उत्तम हुन्छ। टिके प्रथाले पार्टी पुनर्गठन र सुदृढीकरण हुन सक्दैन, झन कमजोर हुन्छ भन्ने कुरा बुझौ। पछिल्लो समय नेकपा एमाले र नेताहरुप्रति आम नागरिकको बुझाई कस्तो छ भन्ने कुरा सामाजिक सञ्जालका कमेन्टहरु, सार्वजनिक स्थलमा गरिने टिप्पणीहरुलाई समेत मनन् गर्दै अघि बढ्न म अपिल गर्दछु।
३. भदौ २३ गतेको जेन जि आन्दोलनमा सरकारको फितलो सुरक्षा व्यवस्था र युवा बिद्यार्थीमाथि अन्धाधुन्ध गोलि प्रहार दुखदायि थियो। २४ गतेको घटनामा लामो तयारी सहितको सुनियोजित थियो भन्ने कुरा अध्यक्ष ज्युको प्रतिवेदनमै आएको देखिदा प्रधानमन्त्री कार्यालयकै मातहतका सुरक्षा निकायहरुले किन रोक्न उदासीन भएरु बिचारणिय छ। यस सम्बन्धमा सुक्ष्म छानबिन हुन आवश्यक छ।
४. अध्यक्ष कमरेड सहित हामी सबैले अब हाम्रो पार्टीको वर्तमान अवस्थाबारेको सत्य र यथार्थतालाई स्विकार्दै अघि बढ्नु आवश्यक छ। जनता भन्दा माथि राजनीतिक दल हुन सक्दैन, दल जनताको उपज हो। स्वयम् संविधान पनि जनताको विश्वास रहेसम्म रहने हो। दल र हाम्रो पार्टी प्रति युवा समूह र आम जनता, कार्यकर्ताले विगतदेखि नै सुद्विकरणको माग गर्दै आएका हुन्। सुद्विकरण हुन नसक्दा अनियमितता र भ्रष्टाचार बढ्न गएकाले सुशासनको अवस्था ज्यादै कमजोर देखा पर्न पुग्यो । हामिले विगतदेखि नै हाम्रा व्यक्तिगत र संस्थागत आचरणमा सुधार गर्न सकेनौं यसैको विस्फोट अहिलेको अवस्था हो भन्ने कुरा हामीले स्विकार्नु पर्दछ। जनताले हामीलाई पटकपटक सत्ता र सरकारमा पुर्याएकै हुन् तर पनि हाम्रो नेतृत्वको ३ तहकै सरकारको नीति, कार्यक्रम र बजेटलाई जबजको मार्गदर्शनमा समाजवादको आधार तयार पार्ने खाले तर्फ केन्द्रित गर्दै पार्टीलाई बलियो बनाउन सकेनौं भन्ने बास्तविकताको सामुहिक आत्मआलोचना गर्दै जनता कार्यकर्तामा पुनः विश्वास प्राप्त गर्नेगरि अघि बढ्ने वातावरण बनाऔं ।
५. हाम्रो पार्टीमा समानुपातिक समावेशि शैली संविधानले कल्पना गरे विपरीत व्यापक दुरुपयोग भयो । पार्टी चलाउन जनता कार्यकर्ता चाहिने तर पद र अवसर जति आफन्त, नजिकका र पैसावाललाई दिने प्रवृत्ति रोकौँ। समानुपातिक सांसद दोहोरिएर हुन नपाउने कुरा एकदम ठिक छ तर एउटा निर्वाचन क्षेत्रबाट एउटा व्यक्ति कति पटक प्रत्यक्ष निर्वाचन लड्न पाउने भन्ने कुराको पनि नीति बन्न जरुरी छ। निर्वाचन क्षेत्र एउटै व्यक्तिको पेवा जस्तै भए अर्को नेतृत्व जन्मिने अवसर कसरी मिल्छ रु
६. कथित सल्लाहकारहरुले हाम्रो पार्टी नेतृत्वलाई सिमित घेराभित्र पार्ने प्रबृत्ति, यथार्थता भन्दा बेग्लै रिपोर्टिङ र गलत सुचना दिई भ्रम फैलाउने कारण पार्टीका ईमान्दार र देशभक्त कार्यकर्ताहरुको मनोबल खस्किएको यथार्थतालाई स्विकार्दै नेतृत्वले सबैसँग समान व्यवहार गर्न सकेमा नै नेतृत्व प्रतिको विश्वास अभिबृद्वि भई पार्टी बलियो हुने कुरामा हेक्का राख्न सक्नुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस्: