‘२३ भदौको नरसंहारबाट एमालेले आजीवन मुक्ति पाउँदैनौँ, अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुहोला’ : अरविन्द्र सिंह
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य अरविन्द्र सिंहले २३ भदौको जेन–जी आन्दोलनका क्रममा भएको नरसंहारबाट एमालेले आजीवन मुक्ति नमिलेको बताएका छन् । उनले जारी केन्द्रीय कमिटीको बैठकमा राज्य सत्ता र पार्टी सत्ता हाम्रो हातमा भएको बेला भएको उक्त घटनाप्रति पार्टी नेतृत्वबाट सतही विश्लेषण आएको बताए ।
‘२४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो,’ उनले भने, ‘जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्तजस्ता अमूर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ । विस्तृत र वस्तुनिष्ठ विश्लेषण जारी छ ।’
उनले बैठकमा थप सुझाव दिँदै केही थप प्रश्नहरूसमेत गरे । २२ भदौको राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भएको हुँदा उक्त फेल भएको राजनीतिक प्रतिवेदनको कार्यनीति बोकेर जनतामाझ कसरी जाने भन्दै प्रश्न गरेका छन् ।
‘हाम्रा विश्लेषणहरू वस्तुनिष्ट हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछन्, त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन । सक्किने बाटोमा लैजान्छ,’ सिंहले भने ।
सिंहले पार्टीका नेताहरूमाथि लागेका भ्रष्टाचारको छानबिन गर्नुपर्ने अडान लिएका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचार र व्यविचारका डेढ दर्जनभन्दा बढी आरोपका आरोपितहरू हामी यहीँ छौँ । त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि ? बोल्दै नबोल्ने ?’
उनले हालको जनताको आक्रोश एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष र उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय भएको तर्क गरेका छन् ।
साथै, उनले चार वर्षसम्म केन्द्रीय कमिटीको बैठकमा ४र५ जनाबाहेक तीन मिनेटसमेत बोल्न नपाउँदा कुनै हिनताबोध र ग्लानी नहुने पदाधिकारीहरूले सार्वजनिक खपतका लगि बाहिर बोल्नुको अर्थ नभएको धारणा राखेका छन् । उनले एमालेले चुनावको तयारी गर्नुपर्ने र चुनाव बहिष्कार गर्ने नीति लिँदा अर्को भिडन्तको वातावरण बन्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: