Bagmati Samachar Logo

ढाई महिनामा एमालेमा भण्डारीको पक्षमा बहुमत पदाधिकारी , ओलीको राजीनामा माग

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने माग उठेको छ ।

शुक्रबार भक्तपुरस्थित गुण्डुमा ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेताले बिदा लिनुपर्ने लिखित प्रस्ताव राखेकी हुन्। यस्तै लिखित प्रस्ताव राखेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टी पुनर्गठनको कुरा उठाउँदै अध्यक्ष ओलीलाई पद त्याग गर्न सुझाव दिए।

‘पुरानाले हामी जति पनि नेता छौँ, बिदा लिऔँ, यही नेतृत्व लिएर एमाले पार्टी अघि बढ्न सक्तैन भनेर भन्नुभयो,’ लिखित प्रस्तावको सार उद्धृत गर्दै एक सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘अष्टलक्ष्मी कमरेडले सिधै अध्यक्षको राजीनामा माग गर्नुभयो।’

उपाध्यक्ष ज्ञवालीले पार्टी पुनर्गठनको आवश्यकता झन् बढ्दै गएको भन्दै अध्यक्षले पदत्याग गर्नुपर्ने बताए।

आजको बैठकमा नौ जना पदाधिकारीले धारणा राखेका थिए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू शाक्य, ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र गुरु बरालले धारणा राखेका थिए।

उपाध्यक्षहरूमध्ये बराल मात्र ओलीको पक्षमा खुले।

‘अहिले देश(विदेशबाट आक्रमण भइरहेका बेला आन्तरिक एकता बलियो पार्नुपर्छ, राजीनामाले निकास दिँदैन,’ बरालले भने।

यस्तै, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि ओलीले तत्काल राजनीनामा दिन नहुने पक्षमा उभिएका थिए।

उपाध्यक्षहरुले घुमाएर राजीनामा शब्द नभनी अध्यक्षले पदत्याग गर्नुपर्ने कुरा उठाएका एक पदाधिकारीले बताए ।

आगामी असोज २९ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न शुक्रबार सचिवालय बैठक बोलाइएको हो।

फेरियो माहोल बहुमत पदाधिकारी भण्डारीको पक्षमा

पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता खुला गर्न सचिवालयका बहुमत बढी सदस्यले ओलीलाई सुझाव दिए। जब कि साउनको पहिलो हप्तामा बसेको पदाधिकारी र केन्द्रीय कमिटी बैठकमाा बहुमतले विद्यालाई पार्टी सदस्यता नदिने भनेर सदस्यता नै खोसेको थियो ।

‘पर्सि बस्ने केन्द्रीय कमिटी बैठकले उहाँको पार्टी सदस्यता खुला गरिदिए हुन्छ भनेर बहुमत साथीहरूले भन्नुभयो। यसमा एकै स्वरजस्तो थियो,’ अर्का पदाधिकारीले भने।

नौ जनामध्ये बहुमतले भण्डारीको रोकिएको सदस्यता खुला गर्नुपर्ने सुझाव दिएको ती नेता बताउँछन्। साउनमा बसेको पदाधिकारी बेठक होस कि भदौ २१ र २२ गतेको दोस्रो विधान महाधिवेशनमा होस ओलीको पक्षमा बहुमत थियो । तर जेनजी प्रर्दशनपछि माहोल फेरिएको छ । ओलीको सरकार ढलेको छ । ओली सत्ताबाट शक्तिबिहीन भएका छन् । जसका कारण माहोल उल्टीएको एक पदाधिकारी बताउछन् । सरकारमा गएपछि ओलीको पक्षमा उभिदै आएका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङपनि पदाधिकारी बैठकमा भण्डारीको पक्षमा खुलेका छन् ।

भण्डारीलाई सदस्यता दिनुपर्ने पक्षमा विष्णु पौडेल, रामबहादुर थापा खुलेपछि सचिवावलयमा बुहमत भएको छ।

भण्डारीको सदस्यता रोकिएकै कारण ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे एकातिर थिए। अब सचिवलायमा ओली अल्पमतमा परेका छन्।

असार १४ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको बताएपछि उनलाई रोक्न ओलीले अनेक चाल चलेका थिए।