देउवा अब सभापति बन्नुहुन्न, उहाँले नै यो कुरा भनिसक्नुभएको छ : प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शेरबहादुर देउवा अब पार्टी सभापति नबन्ने बताएका छन्।
यो कुरा सभापति देउवाले पहिलेदेखि नै भन्दै आइरहेको पनि महतले बताए।
सभापति देउवा १३ औं र १४ औं महाधिवेशनमा सभापति जितेका थिए। कांग्रेस विधानअनुसार दुई पटक सभापति भएको व्यक्ति तेस्रो पटक सभापति उम्मेदवार हुन मिल्दैन।
उनले भने, ‘हाम्रो सभापतिजीले पहिलेदेखि नै अब सभापति बन्दिनँ भनिरहनुभएको छ, अधिवेशनले नै अर्को नेतृत्व चयन गर्छ ,’
सभापति देउवा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अनुपस्थित छन्। तर २६ असोजमा हुने केन्द्रीय समिति बैठकमा सभापति देउवा उपस्थित हुने र आफ्ना कुरा राख्ने महतले जानकारी दिए।
फरक प्रसंगमा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न खोज्नु के खेल हो बुझ्न नसकेको बताए।
भदौ २३ मा मृत्यु भएकाहरूको परिवारले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाए पनि आयोगले पुनः प्रहरीमा फिर्ता पठाएको थियो।
साथै उनले नियमित महाधिवेशन गर्नेतर्फ पार्टी अघि बढेको र २६ असोजदेखिको केन्द्रीय समितिमा यसबारे छलफल हुने पनि बताए।
महाधिवेशन गर्न आवश्यक समय राखेर कार्यतालिका आउने उनको भनाइ छ।
साथै महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरिरहेका छन्।
उनले विशेष महाधिवेशन माग्न भएका हस्ताक्षर अभियानले पार्टीलाई कमजोर बनाउने हो कि भन्ने कोणबाट पनि छलफल भइरहेकोले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्: