जेनजी आन्दोलनका नाममा गोलीकाण्ड, आगजनी र तोडफोड भयो : केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापनाका लागि नेपाली जनताले आन्दोलनको आँधी–तुफान सिर्जना गर्नुपर्ने बताएका छन्।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले अहिलेको संसद विघटन असंवैधानिक, गैरकानुनी र अलोकतान्त्रिक भएको दाबी गरेका छन् । उनले पुनर्बहालीका लागि अब प्रतीक्षा होइन, प्रतिवादको समय आएको बताए।
उनले भनेका छन्, ’कतिपय भन्छन्, फागुन २१ गतेसम्म पर्खौँ, चुनाव भएन भने माग गरौँ । पर्खिनु पर्ने अवस्था छैन। अहिले नै नेपाली जनताले आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ।’
उनले देशमा संविधान, संसद् र लोकतन्त्र मेट्न खोज्ने प्रयासलाई कसै पनि सहन नहुने भन्दै जनतालाई सतर्क रहन आग्रह गरे।
ओलीले देशमा बढ्दो भ्रष्टाचार, अव्यवस्था र असुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै एमालेले सुशासन र भ्रष्टाचारविरुद्धको साझा अभियान निरन्तर चलाउने बताए। ’म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न,’ उनले दोहोर्याए, ’देशमा सुशासन कायम गर्न अब युवाले अगुवाइ गर्नुपर्छ।’
उनले जेनजी आन्दोलनका केही मागहरूलाई उचित ठहर गर्दै पनि भदौ २३ र २४ गतेका हिंसात्मक घटना योजनाबद्ध रूपमा गराइएको र गोलीकाण्ड, आगजनी र तोडफोड देश अस्थिर बनाउने षड्यन्त्र भएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्: