सिंहदरबार र अदालत जल्दा दमकल नपठाएको आरोप लागेका बोलनले भने–अवरोधले गर्दा दमकल जान सकेन
काठमाडाैं । यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो ? तीन दिनसम्म जलेको हेरेर बस्यो ?
सिंहदरबार जलाउने नै बालेन शाह हो यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्।
हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जो सुकैले सुचनाको हक को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि तर पनि, हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।
गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला “राज्य” नै ठप्प थियो।त्यो दिन देशमा सरकार त थिएन तर स्थानिय सरकार काठमाण्डौ महानगर आफ्नो दायित्वबाट पछाडी हटेको थिएन ।
सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौ मान्छे समेत हिडडुल गर्न सक्ने अवस्था थिएन ,तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औसधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन, जलेका गाडीहरुको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकाय हरु संगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्डमा खटिनुहुने सम्पूर्ण प्रति सम्मान ब्यक्त गर्दछु।
सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८.१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।
हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन। काठमान्डौ महानगरको न्युरोडमा २ वटा, बालाजुमा २ वटा र रामहिटीमा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिमले ३ शिफ्ट मा काम गर्नुहुन्छ । १ शिफ्ट मा १ दमकलमा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल संचालन गरिएको छ।
२३ गते केहि स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो ।महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
अब कुरा गरौ दमकलको २३ गते दिउसो १.३० देखि ५ बजेसम्म संसद भवन अगाडी आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो ।
२४ गते बिहानै देखि कुनै पनि दमकल संचालन मा आउन सकेको थिएन , २४ गते राति ८ बजे देखि १ बजे सम्म बिशाल बजार जनसेवा प्रहरी वृत , हिमालयन बैंक र रास्ट्रीय बाणिज्य बैंक बानेश्वोरमा न्युरोड दमकलले तथा नयाँ बसपार्कमा बालाजु र रामहिटी दमकलले आगो निभाई रहेको थियो।
२४ गते नै राति ८.१५ देखि ९.४५ सम्म, २४ गते को राति २५ गते बिहान १.४५ देखि ३.०० बजे सम्म, २६ गते दिउसो ३.३० देखि ६.५० सम्म र सोहि दिन साँझ ५ बजे देखि ६ बजेसम्म सिंहदरबारमा आगो निभाइरहेका थिए।
२५ गते दिउसो १२.२० देखि १.३० सम्म संसद भवन, २५ गते नै दिउसो ३.३० देखि ४३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिल्लीबजार कारागार लगायतका स्थानमा, २६ गते बिहान ९.२५ देखि १०.१५ सम्म, २७ गते बिहान ८.०० देखि ९.१५ सम्म, सोहि दिन साझ ४ बजे देखि ६ बजेसम्म सर्बोच्च अदालत परिसरमा आगो निभाएको त्यहाँको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामीसँग सुरक्षित नै छ । त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बबरमहल जिल्ला अदालत, चुच्चे पाटी, भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था बिभाग, शहरी बिकास बिभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एनसेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घरमा, चाक्सीबारी घरमा, बालुवाटार भाट भटेनी गोदाममा, रानीपोखरी प्रहरी, कोटेश्वोर भाटभटेनी, गुणस्तर बिभाग भाटभटेनी नक्साल मन्दिर पछाडी फर्निचर, सडक बिभाग लगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको बिस्तृत विवरण यहि राखेको छु। संगसंगै हिल्टन होटल, बनबासा होटल लगायतबाट सेना समेत को सहकार्य मा उद्धार कार्य गरिएको थियो।
अब कुरा गरौ स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको लास व्यवस्थापनको , संघिय सरकार ले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताललार्इ निशुल्क उपचारको लागि समन्वय, अस्पतालको लागि आवस्यक औषधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन , बिरामी तथा बिरामी कुरुवाहरुको लागि निशुल्क खाजा खाना, अन्य आवस्यक लजिस्टिक,सुत्नको लागि म्याट लगायत अन्य सामाग्रीको व्यवस्थापनमा महानगरको सचिवालय,नगरप्रहरी, स्वास्थ्यकर्मी लगायत को टिम रात दिन खटिएको थियो।उपचारको लागि अभिभाबक नभएका सम्पूर्ण बिरामीहरुको अभिभाबक हाम्रो टिम बनेको थियो एति सम्म कि, अपरेसन गर्दामा समेत हाम्रो नगरप्रहरीले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ। लास व्यवस्थापन को लागि परिवारलार्इ आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो । यतिसम्मकि नेपालि सेना लगायत अन्यको सहकार्यमा लासलाइ घर सम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौ।
अन्त्यमा,
प्रिय आमा बुवा,दाजु भाइ, दिदि बहिनि, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरु संघ सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध छ । कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।
हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौ ,मलाई यसको कुनै जस चाइएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं।
सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।
अन्त्यमा देशलाई एकता र साचो कुराको खाचो छ हल्ला र झुटको हैन ।
प्रतिक्रिया दिनुहोस्: