Bagmati Samachar Logo

ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, सुदनले सडकबाटै देखाइदिने धम्कीपछि हाई अलर्ट

 

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउको माग गर्दै आफूलाई जेन–जी समूहको नेता दाबी गर्ने सुदन गुरुङ प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

सोमबार साँझ निवेदन लिएर गुरुङको समूह भद्रकालीस्थित प्रहरी परिसर पुगेको हो । उनीहरूले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ताको प्रयास गरेका थिए ।

तर, यसबारे सरकारले गठन गरेको जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले निवेदन दर्ता गर्न मानेन । त्यसपछि सडकबाटै देखाइदिने भन्दै सुदनको समूह प्रहरी कार्यालयबाट बाहिरिएको थियो ।

यसैबीच काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण वृत्तलाई फिर्ता बोलाएको छ । सडकबाटै देखाइदिन्छौँ भन्दै गुरुङको टिमले धम्की दिएपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानिएको हो ।

काठमाडौं उपत्यका प्रहरीको ‘भिक्टर कन्ट्रोल’ कल साइनबाट बेलुकी साढे ७ पछि बिटका प्रहरी रिजर्भ फोर्सका लागि फिर्ताको आदेश भएको हो । काठमाडौं उपत्यकामा ६० वटा युनिट छन् ।