ओली र लेखकलाई पक्रन जेनजीको नयाँ अभियान सुरु
काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङले ह्यासट्याग अभियान सुरु गरेका छन्। आफूलाई जेन जी प्रदर्शनको प्रमुख स्टेकहोल्डर दावी गर्दै आएको ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक सुधन गुरुङले ‘डु अर डाइ’को नाममा अभियान सुरु गरेका छन् ।

भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकले नै प्रहरीलाई गोली चलाउन आदेश दिएको जनाउँदै गुरुङले केही बेरअघि पक्राउ गर्नुपर्ने मागसहित थिम पोस्टर सार्वजनिक गरेका छन् । सरकारलाई चौतर्फी दबाब दिन उक्त अभियानमा सहभागी हुन उनले युवाहरुलाई आह्वान समेत गरेका छन् ।
गुरुङले सार्वजनिक गरेको पोस्टरमा ओली र लेखकलाई ‘हत्यारा’ करार गर्दै तस्बिर समेत राखिएको छ ।
आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का गरिएको छ भने काठमाडौं उपत्यकाबाट बाहिर जानुपर्ने अनुमति लिनुपर्ने भनिएको छ ।
जेन–जी आन्दोलनको अगुवाको रूपमा रहेका सुदन गुरुङलगायतका टोलीले विगत केही समयदेखि नै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग राख्दै आएका छन् । २३ भदौको आन्दोलनमा मारिएका जेन–जीहरूको जिम्मेवार ओली र लेखक भएको उनीहरूको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्: