जेनजीको प्रर्दशन हाइज्याक गरेका सुदन गुरुङले विपद् प्राधिकरणको बैठक पनि हाइज्याक गरेर डाटा मागे
काठमाडौं । शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो । बैठकमा सम्बन्धित निकायका कर्मचारीहरु सहभागी थिए । बैठक चलिरहेको थियो । चलिरहेको बैठकमा एकाएक पुगे पछिल्लो समयमा चर्चामा रहेका व्यक्ति सुदन गुरुङ । उनी बैठकमा अनधिकृत रुपमा प्रवेश गरेका थिए । बैठकमा सहभागी भएपछि उनले बैठकलाई नै हाइज्याक गरेको कुरा उनले सार्वजनिक गरेको भिडियोबाट नै थाह हुन्छ ।
उनले बैठक नै हाइज्याक गरेपछि फेरि उनको निकै चर्चा भइरहेको छ । जसरी २३ भदौमा जेन जीको प्रर्दशनमा आफू पानी वितरण गर्न स्वयसेवीको रुपमा आएको अन्र्तवार्ता दिएका र २४ गतेबाट जेन जीको नेता भएर हरेक ठाउँमा डिल गर्न अग्रसर भएका थिए । त्यसपछि उनको चर्चा एका एक प्रधानमन्त्री र मन्त्री बनाउने हैसियतको रहेको सम्म भयो नभन्दै उनी अहिलेसम्म त्यहि हैसियतमा प्रकट भइरहेका छन् ।
शनिबारको प्राधिकरण बैठकमा पुगेर गुरुङले कर्मचारी तथा सुरक्षा निकायलाई ठाडो निर्देशन दिए । आज आएर गुरुङको उपस्थिति र निर्देशनप्रति धेरैले प्रश्न गरिरहेका छन् । खासमा उनी कुन हैसियतले प्राधिकरणको बैठकमा पुगे ? भन्ने प्रश्न सार्वजनिक वृत्तमा उठिरहेको छ । सामाजिक सञ्जालमा गुरुङको उपस्थिति र निर्देशनबारे तिखो टिप्पणी पनि भइरहेको छ ।
प्राधिकरणका अधिकारीहरूसँग गुरुङको उपस्थितिबारे सोधखोजी गर्द प्राधिकरणका अधिकारीहरू नै गुरुङ कसको अनुमतिमा बैठकमा आए र किन निर्देशन दिए ? भन्नेमा जवाफ दिन सक्ने अवस्थामा छैन ।
‘सुदन गुरुङ विपद् प्राधिकरणको बैठकमा कुन हैसियतमा बसेर सहभागी हुनु भयो र निर्देशन दिनुभएको हो ?’ भनेर प्रश्न गर्दा विपद् प्राधिकरणकी उपसचिव तथा प्रवक्ता शान्ति महतले आफूलाई केही जानकारी नभएको बताइन् । महतले भनिन, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको थियो । उहाँहरू आउनुभयो बस्नु भयो ।’
यद्यपि, प्राधिकरणका कर्मचारीहरू गुरुङको निर्देशनलाई निर्देशनकै रुपमा बुझ्न भने मानिरहेका छैनन् । उनीहरूले औपचारिक रुपमा गुरुङले निर्देशन दिएको भनेका छैनन् । उनले निर्देशन होइन सल्लाह–सुझाव दिएको विपद प्राधिकरणका व्यक्ति र स्वयं गृहमन्त्रीभनिरहेका छन् ।
त्यसको जवाफमा महतले आफूहरूले नबोलाएको बताइन् । उनले भनिन्, ‘हामीले बोलाएको होइन, आँफै आउनुभएको हो ।’
‘गुरुङले प्राधिकरणको बैठक बसिरहेको कुरा कसरी थाह पाए त ? कि गृहमन्त्रीले बोलाउनुभएको हो ?’ भनेर सोध्दा आफूले त्यो कुरा थाहा नपाएको दाबी गरिन् ।
प्राधिकरणका अधिकारीले नबोलाएका कारण गुरुङलाई गृहमन्त्री ओमप्रकाश अर्यालले बोलाएको हुनसक्ने आंशका छ । महतले पनि प्रष्ट जवाफ भने दिइनन् । उनले ‘गृहमन्त्रीले बोलाएको पनि हुनसक्छ’ भन्ने आंशका मात्रै गरिन् । उनले भनिन्, ‘गृहमन्त्रीज्यूले बोलाउनुभयो कि भएन थाह भएन । तर उहाँ आउनुभयो बैठकमा बस्नुभयो ।’
प्राधिकरणको बैठक बसिरहेको केहीबरेमा गृहमन्त्री अर्याल पनि सहभागी भएको महत बताउँछिन् । उनले भनिन्, ‘बैठक बसिरहेको केही समयपछि गृहमन्त्रीज्यू पनि बैठकमा सहभागी हुनुभएको हो । उहाँ आउनुभन्दा पहिला नै सुदन गुरुङलगायत आएर बैठकमा बस्नुभएको हो ।’
प्राधिकरणको बैठकमा सहभागी भएर सुरक्षाकर्मी, प्राधिकरणका अधिकारी र अन्य सरकारी कर्मचारीलाई निर्देशन मात्र होइन, तथ्यांकहरू पनि मागिरहेका छन् । केही तथ्यांकको जवाफ भने सुरक्षा अधिकारी र कर्मचारीले तत्काल नै दिइरहेका छन् ।
प्राधिकरणको बैठकमा सहभागी भएका गुरुङले राखेको भिडियोमा भनिरहेका छन्, ‘जहाँ–जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैनन्, त्यो पहिले पहिचान हुनुपर्यो नि । तब तपाईंहरूले यो–यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्यो भनेर भन्न सकिन्छ, बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला, रासनपानी के–के हुन्छ, यसो मिलाइदिनुपर्ला । किनभने त्यहाँ खाना छैन ।’
बैठकमा गुरुङले नागरिकलाई उद्धार गर्न एउटा हेली चाहिने बताउँछन् । उनी भन्छन्, ‘बल्खुमा मोटरबोटबाहेकको काम छैन । र्याफ्टिङको काम छैन । रोड एक्सिडेन्ट भएको ठाउँमा एम्बुलेन्स नपुग्न सक्छ । रोड ब्लक हुन सक्छ । त्यसको लागि हेली नै चाहिन्छ ।’
उनी प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई के कस्तो छ अवस्था भन्दै सोध्छन् । कार्यकारी प्रमुख भट्टले पनि जवाफ दिन्छन् ।
यस्तै, उनले उक्त भिडियोमा विपद् उद्धारका लागि प्राधिकरणसँग कति टेन्ट छ रु भनेर सोधेका छन् । प्रमुख कार्यकारी अधिकृत भट्टको जवाफ छ, ‘केही टेन्टहरू टीआईएमा छ, भएका टेन्टहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेका छौँ ।’
उद्धार गरिसकेपछि रासनपानीको व्यवस्था पनि तयारी अवस्थामा हुनुपर्ने गुरुङ बताउँछन् । उनी भन्छन्, ‘रासनपानी किन नहाल्ने तर स्टेन्डबाइ राख्नुपर्छ । रासनपानी, टेन्टहरू, चार्जरहरू, हेल्थक्याम्प चाहिन्छ । स्वास्थ्य मन्त्रालयसँग को–अर्डिनेसन गरेर नजिकको स्वास्थ्य चौकीलाई भन्नुपर्यो ।’
लगत्तै उनी र्याफ्टिङ र मोटरबोट कतिवटा छ ? भनेर सशस्त्र प्रहरी बलका प्रतिनिधिलाई सोध्छन् । ती एपीएफका प्रतिनिधि आफूहरूसँग ९६ र्याफ्ट र ३३ मोटरबोट रहेको बताएका छन् ।
गुरुङको प्रस्तुति हेर्दा लाग्छ उनी त्यहाँ सरसल्लाह गर्नभन्दा पनि निर्देशन दिने र सामान कहाँ कतिवटा छ ? भनेर राज्यका उपल्लो निकायका व्यक्तिले मातहतका कार्यालयमा भएको सरसामानको हिसाबकिताब मागेझैँ गरेका छन् ।
नेपाल प्रहरीका प्रतिनिधि बोलिरहेका समयमा गुरुङ बीचमै भन्छन्, ‘मान्छे भएर भएन इक्युप्मेन्ट हुनुपर्यो ।’
गुरुङले लङ लाइभ गर्न सक्ने हेलीहरू कुन–कुन छन् ? भनेर बैठकमा सोध्छन् । जवाफ नआएपछि डेटा नहुनु ठूलो कमजोरी भएको बताउँछन् । उनी भन्छन्, ‘लङ लाइभ गर्न सक्ने हेली कतिवटा छन् भनेर डाटा नहुनु कमजोरी हो । आर्मीको हेली ढिला हुन्छ । प्रक्रिया हुन्छ । युद्धको समय क्रिटिकल हुन्छ । प्राइभेटको डाटा भए तत्काल उडाउन सकिन्छ । आर्मीको हेलिकप्टर भएन भने ब्याकअप चाहिन्छ । आर्मीले ६ ठाउँमा रेस्क्यु गर्छ । हामीले प्राइभेटलाई भनेर रेस्क्यु गर्न सक्छौँ ।’
प्राधिकरणको बैठकमा गुरुङले उच्च सुरक्षा अधिकारी र निजामति कर्मचारीलाई बाढी, पहिरोको जोखिममा रहेका जिल्लाहरुको डाटा निकाल्न निर्देशन दिए ।
इराक, नाइजेरिया, मोरक्को, युक्रेन, मेक्सिको, म्यान्मार, सिरिया, म्याडागास्कर, पाकिस्तान, अफगानिस्तान, बंगलादेश लगायतका मुलुकमा पछिल्लो समय चलेको प्रदर्शनलाई ‘डाटा बेस वार’को संज्ञा दिइएको सन्दर्भमा नागरिकको परिचयलाई गोप्य राख्नुपर्ने आवश्यकता देखिन्छ ।
धेरैले ‘डाटा सप्लाई’ को रणनीतिका रुपमा यसलाई अथ्र्याएका छन् । बार्बरा फाउन्डेसनबाट अनुदान लिएर सामाजिक अभियन्ताको आवरणमा सक्रिय गुरुङले बैठकमा भनेका थिए, ‘जुन जिल्लाहरु बाढी र पहिरोको उच्च जोखिममा छन्, त्यहाँ कति मान्छे छन्, सबै डाटा निकाल्नुस्, युवा कति छन्, बूढाबूढी कति छन्, बच्चा कति छन्, अपांग कति छन् ? जोखिममा रहेका जिल्लाबाट तत्काल डाटा निकाल्नुपर्यो ।’
गुरुङले यसरी निर्देशन दिइरहँदा बैठकमा सहभागी उच्च सरकारी अधिकारी भने मौन देखिए । नागरिकको डाटा गोप्य राख्नुपर्ने कानुनी प्रबन्ध सम्झाउने आँट कसैले नगरेको स्रोतको दाबी छ । एनजिओकर्मीले सरकारी बैठकमा उपस्थित भएर यस्तो रवाफ देखाएपछि कर्मचारीहरूले आजबाट असन्तुष्टि पोख्न थालेका हुन् ।
राहत र उद्धारको नाममा नेपालीको डाटा बाहिर पुर्याउन खोजिएको त होइन ? भन्ने चासो र चिन्ता हिजोको घटनाले चौतर्फी रुपमा बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्: