इलाम पहिरोमा ३४ जनाको मृत्यु, ४ बेपत्ता
काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ। आज अपराह्नसम्म प्राप्त विवरणअनुसार ३४ जनाको मृत्यु र ४ जना बेपत्ता भएका छन्।
पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्। क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पहिरोमा परी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका–६ घोसमा ६, सन्दकपुर गाउँपालिकामा ४, माङ्सेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८, माइजोगमाई गाउँपालिकामा ७ र फाकफोकथुम गाउँपालिकामा १ गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिइन्।
विपद्मा परी सन्दकपुर गाउँपालिकामा २ तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा एक–एकजना बेपत्ता भएका छन्।
दुई दिनसम्म आएको अविरल वर्षाले अधिकांस भूभागमा बाढी पहिरोका कारण यातायात बन्द भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: