Bagmati Samachar Logo

जाँचबुझ आयोगका अध्यक्ष कार्की विवादामा सामाजिक सञ्जालमा राजीनामा मागिँदै

काठमाडौं । नेपालमा गत भदौ २३ र २४ गते भएको जेन–जी प्रर्दशनका घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोग नै विवादमा परेको छ । सरकारले जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्ट भएको आगजनी तथा तोडफोडको घटनाबारे विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र द्वन्द्वग्रस्त विभिन्न मुलुकको संक्रमणकालीन न्यायमा काम गरेका कानुनविद् विशेश्वर भण्डारी सदस्य रहेको आयोगले आफ्नो काम थालिसकेको छ । जेन–जी प्रर्दशनमा घातक हतियारहरूको प्रयोग र दमनमा नीतिगत रूपमा संलग्नहरूमाथि जाँचबुझ हुने र उनीहरूसँग दसैँलगत्तै बयान लिने तयारी छ ।

यो समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न तथा काठमाडौं छोड्नुपरे आयोगसँग अनुमति लिन लगाउनू भन्दै सरकारलाई सिफारिससमेत गरिसकेको छ ।

तर आयोगका अध्यक्ष कार्की भने यतिबेला विवादमा तानिएका छन् । उनले जेन–जी प्रर्दशन चलेका बेला सामाजिक सञ्जालमा गरेका टिप्पणीले विवादमात्रै सिर्जना गरेको छैन, धेरैले उनलाई आयोगबाट राजीनामा दिन सुझाव दिएका छन् । कार्कीको नेतृत्वको आयोगले अब निष्पक्ष जाँचबुझ गर्न नसक्ने जिकिरसमेत कतिपयको छ ।

जेन–जी प्रर्दशनको आगो दन्किरहेकै बेला कार्कीले सामाजिक सञ्जालमा काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा नयाँ नेपालको मार्गचित्र कोर्न प्रस्ताव गरेका थिए । यसका साथै उनले त्यतिबेलै तत्कालीन प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थुन्न माग गरेका थिए ।

भारत र चीनसँगको सीमा सिल गर्न तथा विमानस्थल बन्द गर्न माग गरेका कार्कीले निजी हेलिकोप्टर पनि उडाउन प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । कुनै पनि नेतालाई भाग्न नदिई थुनामा राखिनुपर्ने माग गरेका उनले भनेका थिए,  ‘यी राष्ट्रघाति अपराधीहरू कसैलाई पनि मार्नुहुँदैन ।’

कार्कीले जेन–जी प्रर्दशन सफल भएको पनि उल्लेख गरेका थिए । प्रर्दशनकै बेला दलका नेताहरूप्रति कठोर टिप्पणी गरेका उनै कार्कीलाई जेन–जी प्रर्दशनपछि बनेको सरकारले जाँचबुझ आयोगको नेतृत्व दिएको भन्दै सामाजिक सञ्जालमार्फत विरोध भइरहेको छ ।

पत्रकार प्रकाश तिमिल्सेनाले फेसबुकमा लेखेका छन्, ‘काम सुरुअघि नै विवादमा परिसकेकाले पछि लज्जित हुनुभन्दा कार्की श्रीमान्‌ले विवेक कायम राख्दै ‘साइड’ लाग्नुमा नै भलो देख्छु ।’

ुकार्की श्रीमान्‌ले जाँचबुझ त आन्दोलनकै बेला गरिसक्नुभएको रहेछ । अब त कार्यान्वयन मात्रै गर्न बाँकी रहेछु, सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरूले कार्कीको ट्वीटर टिप्पणी साझा गर्दै व्यङ्ग्य गरिरहेका छन् ।