राष्ट्रपतिसँग वार्ता गर्ने टोलीको सूचीमा आफ्नो नाम आएपछि रक्षाले भनिन्– त्यहाँ मेराे हस्ताक्षर नै छैन
काठमाडौं । जेन–जी प्रर्दशनकी अभियन्ता रक्षा बमले आफूलाई राष्ट्रपतिसँग वार्ता गर्ने टोलीमा एकतर्फी ढंगले नाम राखेको भन्दै आपत्ति जनाएकी छिन् ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै ८–९ सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनमा फरक–फरक समूहको सक्रियता सर्वविदित भए पनि त्यसकै आडमा ‘रोटी सेक्ने’ अनुहार र समूह जन्मिनु गम्भीर विषय भएको बताइन् ।
‘साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई एकतर्फी राखेर सार्वजनिक गर्नु नितान्त गलत हो,’ बमले स्पष्ट पार्दै भनिन्, ‘त्यहाँ मेरो नाम हुनु तर हस्ताक्षर नहुनुले नै धेरै कुरा प्रष्ट पारिसकेको छ ।’
उनले वार्तामा सहभागी हुने टोलीबारे आफू अनभिज्ञ रहेको र त्यहाँ समावेश माग–मुद्दा पनि नपढेको उल्लेख गर्दै सो प्रक्रियामा ऐक्यबद्धता जनाउन नसक्ने बताइन् ।
बमले जेन–जी आन्दोलनले सरकारलाई म्यान्डेट दिइसकेको स्मरण गराउँदै उक्त म्यान्डेटभन्दा बाहिर जाने प्रयत्न भए सडकबाट खबरदारी गर्ने चेतावनीसमेत दिइन् ।
‘वार्तामा जाने भनिएका साथीहरू सचेत हुनुहुन्छ भन्ने आशा छ । तर, यदि टोली गलत दिशातर्फ मोडिएको पाइएमा त्यसविरुद्ध आवाज उठाउन हामी प्रतिबद्ध छौँ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्: