प्रचण्डले कार्यबाहक अध्यक्ष नदिएपछि नारायणकाजी श्रेष्ठ स्थायी समिति बैठकमा आगो
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बैठक बोलाउने र बहस छलफल गर्न नदिएको आरोप लगाएका छन् ।
आज बसेको स्थायी समिति बैठकमा श्रेष्ठले प्रचण्डले हतारमा बैठक बोलाउने र आफू अनुकुल तरिकाले सक्ने गरेको आरोप लगाउदै असन्तुष्टि पोखेको एक स्थायी समिति सदस्यले बताए ।
श्रेष्ठको भनाइ उद्धृत गर्दै उनले भने, ‘हतारमा बैठक बोलाउने र हतारमा सक्ने प्रवृत्ति ठीक होइन । बैठक बोलाएपछि गहन छलफल हुनुपर्छ । तर, सधैँ हतारमा बैठक बोलाउने र सक्ने कुरा ठीक होइन ।’
श्रेष्ठले ५असोजमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले राजिनामा दिएर कार्यबाहक अध्यक्ष बनाउनु पर्ने माग राखेका थिए । माओवादीले केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने भएको छ । श्रेष्ठले आफूले कार्यबाहक अध्यक्ष पाउनु पर्ने माग राखेका थिए । तर उपमहासचिवद्धय जनार्दन शर्मा र गिरीराजमणी पोखरेल बाहेक कसैले उनको प्रस्तावमाथि समर्थन जनाएनन् ।
बैठकमा उपमहासचिव जनार्दन शर्माले बैठकमा बोलाउने अनि बोल्न नदिने गरेको भन्दै आक्रोश पोखेका छन् ।
शर्माले पनि बैठकमा प्रचण्डसँग आक्रोश पोखेको ती स्थायी समिति सदस्यले बताए । ती सदस्यले शर्माको भनाइ उद्धृत गर्दै भने, ‘बैठक बोलाउने तर कुनै पनि बैठकमा सदस्यहरूलाई बोल्न नदिने कुरा ठीक होइन । साथीहरूलाई खुलेर बोल्न दिनुपर्छ । सधैँ हतारहतार गरेर बैठक बोलाउने, छिट्टै सक्ने, बोल्न नदिने हो भने किन बैठक बोलाउनु ? बैठक बोलाएपछि लागेको कुरा बोल्न पाउनुपर्छ ।’
स्थायी समिति बैठकमा प्रचण्डले केन्द्रीय समितिका एजेन्डा र समसामयिक विषयमा ब्रिफिङ गरेका थिए । प्रचण्डले गत भदौमा भएको जेन–जी आन्दोलनको माग ठीक भएको तर साम्राज्यवादी र दलालहरूले घुसपैठ गरेको बताएको बैठकमा सहभागी एक सदस्यले बताए । ती सदस्यले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘जेन–जीका मागहरू जायज थिए । आन्दोलन पनि पहिलो दिन शान्तिपूर्ण थियो । तर पछि साम्राज्यवादी र दलालहरूको घुसपैठ भयो, जसको परिणाम अहिलेको अवस्था आयो । अब हाम्रो मुख्य लडाइँ राष्ट्रिय स्वाधीनताका लागि साम्राज्यवादीसँग हुनेछ । सबै एक भएर जानुपर्छ ।’
स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठकमा फरक मत राख्नेलाई पहिला बोल्न दिने निर्णय गरेको स्रोतले बतायो । स्रोतले भन्यो, ‘भोलिको केन्द्रीय समिति बैठकमा सबैभन्दा पहिला फरक मत राख्नेलाई बोल्न दिने भनिएको छ । अहिलेका एजेन्डाभन्दा फरक मत राख्नेहरूले बोलिसकेपछि समूहगत छलफल गर्ने भनिएको छ ।’
बैठकमा उपमहासचिव मातृका यादवले आफूले प्रचण्डलाई परलोकमा अध्यक्ष हुन नभनेको तर आफ्नो विरोधीले त्यो प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । बैठकले मंसिर अन्तिमतिर विशेष वा एकता महाधिवेशन, तत्काल केन्द्रीय समिति विघटन गर्ने र महाधिवेशन आयोजक समिति निर्माण गर्नेसहितका एजेन्डा तय गरेको छ ।
स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेन्डा तय गरेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताए ।
उनले भने, ‘केन्द्रीय समिति विघटन गर्ने र विशेष वा एकता महाधिवेशन गर्ने भन्ने प्रस्ताव आएको छ । मिति भोलि बस्ने केन्द्रीय समिति बैठकले तय गर्न सक्छ ।’
बैठकमा उपमहासचिव वर्षमान पुनले फरक विचार राख्ने साथिहरुलाई पनि बोल्न दिनु पर्ने बताएका छन् । उनले बैठकमा फरक विचारको सम्मान हुनु पर्ने र खुल्ला किसमले बोल्न पाउनु पर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्: