हमासद्धारा ४८ जना बन्धकहरुको तस्वीर सार्वजनिक, विपिन पनि परे
काठमाडौं । इजरायलले गाजालाई घेरेर कब्जा गर्ने भन्दै सैन्य कारबाही बढाएपछि प्लालेस्टाइनी विद्रोही समूह हमासको सशस्त्र शाखा कासाम ब्रिगेड्सले ४८ बन्धकहरूको तस्वीर सार्वजनिक गरेको छ । अलजजिराका अनुसार हालै सार्वजनिक गरिएको उक्त तस्वीरको क्याप्सनमा बिदाइ तस्वीर लेखिएको छ ।
यसमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश छ । शनिबार अनलाइन पोस्ट गरिएको यो तस्वीरमा जीवित र मृत सबै बन्धकहरूको अनुहार देखाइएको छ, र प्रत्येकको फोटोमाथि रोन अराड भनेर लेखिएको छ ।
रोन अराड इजरायली वायुसेनाका पाइलट थिए, जो १९८६ मा लेबनानमा हराएका थिए । उनको मृत्यु भइसकेको अनुमान गरिए पनि अवस्था अहिलेसम्म अज्ञात छ । अहिले गाजामा इजरायलले आक्रमण नरोके सबै बन्धकको अवस्था रोन अराडको जस्तै हुने धम्की हमासले दिएको रूपमा बुझिए पनि यसको वास्तविकता भने बाहिर आइसकेको छैन ।
हमासले सार्वजनिक गरेको तस्वीरसँगै ुनेतन्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य अपरेशन सुरु हुँदै गर्दा यो बिदाइ तस्वीरु पनि लेखिएको प्राप्त समाचारमा जनाइएको छ । तस्वीरमा मैनबत्ती जलाइएको देखाइएको छ ।
युद्धविराम सम्झौता गर्न इजरायलले अस्वीकार गरेको हमासको आरोप छ । इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्धक जीवित रहेको अनुमान गरेका छन् । इजरायलले आक्रमण नरोके बन्धकहरूको ज्यान खतरामा पर्न सक्ने चेतावनी हमासले दिँदै आएको छ । हमासको अपहरणमा परेका नेपालका विपिनको अवस्था अहिले पनि अज्ञात छ ।
प्रतिक्रिया दिनुहोस्: