राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन सहजीकरण गरेँ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेका बताएका छन् ।
जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन् । शुक्रवार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दिया । मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । यसको हुनसक्ने सहजीकरणबारे रातभर बसेर राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन आग्रह गरे ।’

राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उनको भनाई छ । उनले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई रक्षा गर्न राष्ट्रपति पौडेल उभिएकाले उनलाई धन्यवाद समेत दिए । प्रधानसेनापतिको भूमिका पनि प्रशंसनीय रहेको बताए ।
उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडी नै उठाएको बताए । अहिले जेन जी आन्दोलन गर्नु पर्ने र दर्जनौँ युवाहरूले ज्यान गुमाउनु पर्ने परिस्थिति सिर्जना हुनु राम्रो नभएको उनले बताए । अहिले ठूला दल भनेर अहंकार गर्दा देश भयानक परिस्थितिमा आएको समेत उनको तर्क छ ।
उनले भने, ‘यति धेरै अहंकार ठूला भन्ने पार्टीहरूले गरे । यो अहंकारले कहीँ न कहीँ भोलि जनताले बढार्छन् भनेर मैले पटक पटक भनेको थिए । यो अहंकारको मूल्य धेरै चर्को पर्नेछ, जनतामा आक्रोश दिनप्रतिदिन बढेको छ यो कुनै बेला विस्फोट हुनसक्छ भनेर स्मरण गराएको थिए ’
त्यस्तै, जेन जी आन्दोलन सही छ भन्ने नै माओवादी पहिलो पार्टी रहेको उनले जिकिर गरे । भदौ २३ गते नै आफूहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा नसुनेका कारण २४ गते अर्को घटना भएको उनले बताए ।
त्यसैगरी, अध्यक्ष प्रचण्डले जुरमुराएर अगाडी बढ्न आग्रह गर्दै उनले अगाडी भने, ‘हामी हीनताबोधका बाच्नु पर्ने कुनै आवश्यकता छैन । हामीले गर्वका साथ भन्न सक्छौँ । हामी सही थियौँ । हामीले महान् ऐतिहासिक विद्रोह गरेर यो देशका सबै वर्गलाई अधिकार दिलाउने महान् काम गरेका थियौँ ।’
यसका साथै संविधान बनाउने बेलामा सबैभन्दा बढी दबाब, धम्की आउँदा समेत आफू नडराई संविधान घोषणाको ठाउँमा पुर्याएको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस्: