कमजोरी स्विकार्दै प्रचण्डले भने– हामी विधिवत रुपमा नेतृत्व परिवर्तन गर्छौँ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको बताए। उनले बिहीबार एक भिडियो वक्तव्यमार्फत उक्त कुरा बताएका हुन् । उनले भने,‘हामीले देशविरुद्ध कुनै राष्टघाती सम्झौता गरेनौं, कुनै काण्डमा मुछिएनौं, कुनै कलंकको टीका लगाएनौं, भ्रष्टाचारविरुद्ध जुधिरह्यौं तर जनताको हामीप्रतिको अपेक्षाको सापेक्षतामा हामी कमजोर देखियौं । तपाईहरुले देखिरहनुभएको छ, हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं । हामीले निश्चित बिधि र प्रक्रियामा नेतृत्व हस्तान्तरण बारे छलफल गरिरहेका छौ ।लोकतन्त्रको यो झण्डामा सबैभन्दा धेरै रगत हाम्रै छ । जनतासँग प्रत्यक्ष र सार्थक सम्बन्ध कायम गरेर हामी यो झण्डाको रक्षा गर्नेछौं ।’
प्रचण्डले आफ्नो सम्बोधनमा अतीतका कमजोरीहरूलाई स्वीकार गर्दै गलत विचार वा नीति जलिएको तर व्यवहारमा चुक्योको बताए । उनले भने,‘आज संविधान दिवसको अवसरमा म स्वीकार गर्छु, कि हामीबाट पनि कमजोरी भए । हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा हामी कतै न कतै चुक्यौं । वर्ग र समुदायसँगको हिजोको हाम्रो जीवन्त सम्बन्ध कतै न कतै फितलो भयो । शहिद परिवार, वेपत्ता परिवार, घाइते, अपांग र यातनापीडित साथीहरुका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अलमलियौं । एक्लै सरकारको नेतृत्व गर्न हाम्रो कहिल्यै संख्या पुगेन । गठबन्धनको वाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो ।’
प्रचण्ड आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा पनि जोड दिएका छन्। लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन निर्वाचन समया नै हुनु पर्ने बताए ।
उनले भने, ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामि घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं ।’
उनले सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेको दाबी गरे। तर, जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गर्दै उनले सच्याउने प्रतिबद्धता जनाए।
सम्बोधनमा प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्रप्रति कुनै पनि प्रकारको विचलन देशलाई समाधानतर्फ नभई संकटतर्फ लैजाने चेतावनी दिए। उनले भने, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । इतिहासको चिहानमा मिल्काइएकाहरुले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन् । त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको छ । संविधान र लोकतन्त्रको रक्षामार्फत् राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न हामी सबै नेपालीको साझा कर्तव्य हो ।’
२३ भदौको आन्दोलन वास्तविक जेन–जी आन्दोलन भएको र सरकारले क्रूर नरसंहारमा परिणत गरेको बताए । उनले भने, ‘२३ गतेमा आन्दोलनकारीहरुमा सरकारप्रति देखिएको चरम आक्रोश स्वभाविक थियो तर २४ गते राष्ट्रकै गौरवका रुपमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनीबाट जसरी विध्वंस गरियो ति जेन–जीका काम थिएनन् । ति त प्रतिगमनकारी र अपराधितत्वहरुको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार थिए ।’
यसबाट आज देश इतिहासकै गम्भीर संकटमा परेको बताए ।
प्रतिक्रिया दिनुहोस्: