Bagmati Samachar Logo

२४ घण्टाभित्र अध्यक्ष पद छाड्न सिके राउतलाई अल्टिमेटम

काठमाडौं । जनमत पार्टीका नेताहरूले अध्यक्ष सिके राउतले नेतृत्व छोड्न २४ घण्टे अल्टीमेटम दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले विश्वसनीयता र जनआस्थाको पुनर्स्थापना गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै राउतसँग राजीनामा मागेका हुन्।

प्रवक्ता शरदसिंह यादव, संयोजक संजयकुमार यादव, सिके सिंह, राजाराम चौधरी र बिक्रबहादुर बमले राजीनामा मागेका हुन्।
जेन जी ले सञ्चालन गरेको आन्दोलनले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको साथै आन्दोलनले सत्तारूढ गठबन्धन सरकार, प्रधानमन्त्री, गठबन्धनका शीर्ष नेता तथा प्रमुख प्रतिपक्षी दलका नेताहरूको अकर्मण्यता र अनियमितताविरुद्ध गम्भीर प्रश्न उठाएको उनीहरूले उल्लेख गरेका छन् ।

अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ ।’

उनीहरूले संगठन विभाग प्रमुख जयकान्त राउतको पनि राजीनामा मागेका छन्।

पत्रमा भनिएको छ , ‘पार्टीको समय हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू, पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सि.के. राउत) ज्यू र संगठन विभाग प्रमुख डा। जयकान्त राउतज्यू‌ले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

दुई नेताले मार्ग प्रशस्त गरे थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्ने उनीहरूले बताएका छन्।