Bagmati Samachar Logo

हितेन्द्रलाई प्राधिकरणबाट हटाउने कुलमानको संकेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाउने संकेत गरेका छन् । जेन जीको प्रर्दशन पछिको अवस्था अनुसार कार्यकारी निर्देशक शाक्यले बाटो खुला गर्नुपर्ने घिसिङ सन्देश छ ।
मन्त्री बनेको तीन दिन पछि घिसिङले कार्यकारी निर्देशकबाट शाक्यले राजीनामा नदिए मन्त्रालयले हटाउने प्रक्रिया आरम्भ गर्ने संकेत दिएका छन् ।

घिसिङ निकट स्रोतका अनुसार शाक्यलाई यो विषयमा अनौपचारिक सन्देश पनि प्रवाहित भइसकेको छ । प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङलाई हटाएर शाक्य आएका थिए । करिब ४ महिना बाँकी हुँदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याएका थिए ।

शाक्यले पनि घिसिङबाट आफूलाई अन्याय भएको भन्दै आएका थिए । त्यसैले पहिला पनि घिसिङलाई हटाएर शाक्य कार्यकारी निर्देशक भएका थिए । त्यसपछि फेरि शाक्यलाई हटाएर घिसिङ दोस्रोपटक कार्यकारी निर्देशक भएका थिए ।

घिसिङ र शाक्यबीच भएको नियुक्तिको रस्साकस्सी धेरै भएको थियो । कतिसम्म भने घिसिङको समयमा प्राधिकरणले नाफा नकमाएको भन्दै श्वेतपत्र जारी गरेर शाक्यले कार्यकालको सुरुवात गरेका थिए । त्यसको काउन्टरमा घिसिङले सार्वजनिक रूपमा टिप्पणी मात्र गरेनन्, सञ्चारमाध्यामलाई अन्तर्वार्ता पनि दिँदै हिँडेका थिए ।

कार्यकारी निर्देशकमा दुई जना रस्साकस्सीकै बीचमा संयोगले घिसिङ त्यही ऊर्जा मन्त्री भएका छन् । त्यसले शाक्यलाई थप दबाबमा परेको छ ।

घिसिङ मन्त्रीको शपथ लिई ऊर्जा मन्त्रालयमा पदभारका लागि आउँदा शाक्य उपस्थित भएनन् । मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालयमातहतका विभाग र संस्थाका प्रमुखहरू मन्त्री पदभार ग्रहण गर्न आउँदा उपस्थित हुने प्रचलन छ । तर, शाक्यले घिसिङको पदभार ग्रहण बहिष्कार गरे । भोलिपल्ट फेसबुकबाट शाक्यले मन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिएका थिए ।