Bagmati Samachar Logo

पत्रकार सम्मेलनमा रुँदै हर्क साम्पाङले भने मन्त्री दूतावासले बनाउदो रहेछ, म परिन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई) ले मंगलबार धरानमा पत्रकार सम्मेलन गरेका छन् । मेयर साम्पाङले काठमाडौंबाट फर्केर धरानमा पत्रकारसम्मेलन गरेका हुन् । उनले पत्रकारसम्मेलनमा पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र आफूले काठमाडौंमा भोगेका अनुभवको बेलीबिस्तार सुनाएका छन्। पत्रकारसम्मेलनमा रुँदै मेयर साम्पाङले विभिन्न प्रसङ्ग उल्लेख गरेका थिए।

जेनजी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहर मात्र नभई वर्षौँदेखि बनेको ठूलो राजनीतिक डिजाइन भएको बताएका छन् । ‘प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय रहेछ,’ साम्पाङले भने, ‘यो आन्दोलन सुशासन वा सोसल मिडियाकै लागि मात्रै नभएको पाएँ।’

साम्पाङले आफूले देशकै लागि जोखिम मोलेको भन्दै आफूलाई गोली लाग्न सक्छ भन्ने थाहा हुँदा हुँदै पनि लागे लागोस् भन्ने अवस्थामा आफू जेनजीको मागको आधारमा काठमाडौँ गएको बताए।

आन्दोलनको दिन २३ र २४ गते हर्क धरानमा थिए। २५ गते उनी बिहानै काठमाडौँ गएका थिए। उनले भने, ‘यो देश रह्यो भने मात्र हामी रहन्छौँ भन्ने भावनाले म जङ्गी अड्डासम्म पुगेको थिएँ।’

उनले आरोप लगाउँदै भने, ‘प्रधानमन्त्री बन्ने, मन्त्री बन्नेहरूको नाम त पहिले नै तयार रहेछ। दूतावास धाउनु पर्ने रहेछ, तर म गइनँ। त्यसैले मलाई क्याबिनेटमा राख्न सकिँदैन भन्ने निर्णय त्यहाँबाट आयो। मलाई दिएनन्।’

साम्पाङले आफू कुनै शक्तिकेन्द्रको गोटी नभएको स्पष्ट पारे। उनले भने, ‘विदेशीले रिमोटबाट चलाउने देश हुँदैन भनेको मान्छे म नै हुँ। बिकाउ भएर होइन, आँट गरेर देशको लागि हिँडेको मान्छे हुँ।’

साम्पाङका अनुसार जेनजी पुस्ताले देश बालेन शाह वा हर्क साम्पाङले चलाउनुपर्ने माग राखेका थिए। एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई ल्याएर देश सुम्पिएको भन्दै उनले देश चलाउने जिम्मा युवाले लिनुपर्ने आवाज आएको भए पनि त्यसको सुनुवाइ नै नभएको बताए ।