Bagmati Samachar Logo

आगोले खरानी भएको च्यासल पुगेर शंकर पोखरेलले भने– हाम्रा कमजोरी होलान् तर सच्याउँदै अघि बढ्छौँ

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना कमजोरी सच्याउदै अघि बढ्ने बताएका छन् । सोमबार २४ भदौ मा जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय हेर्न पुगेका थिए ।

कार्यालयको अवस्था हेरिसकेपछि अनुगमनपछि महासचिव पोखरेलले भदौ २४ मा पार्टी नेता कार्यकर्ताका निजी भवनसहित शताब्दी पुराना सम्पदाहरू समेत जलेर नष्ट भएकाले मुलुकले ठुलो क्षति व्यहोर्नुपरेको बताए । उनले भने, ‘सिंहदरबार, शीतलनिवास लगायतका संरचना पनि जलाउने काम भयो ।’

महासचिव पोखरेलले युवाको आन्दोलनलाई लुटपाटको योजनामा बदल्ने र राष्ट्रलाई कमजोर बनाउने जस्ता काममा केही मानिसहरू लागेकाले युवाहरूले ती तत्त्वहरू चिन्नुपर्ने बताए । ‘त्यस्ता मानिसहरूलाई सरकारले पनि दण्डित गर्नुपर्छ । पुनर्निर्माणको काम अघि बढाउनुपर्छ’, पोखरेलले भने, ‘एमाले सुशासन कायम गर्ने,भ्रष्टचार अन्त्य र विकास तथा सम्मृद्धिलाई तीव्रता दिने कुरामा वर्तमान सरकारलाई सहयोग गर्न तयार छ ।’

यद्यपि उनले अहिलेको अन्तरिम सरकार भएकाले यसले समयमै निर्वाचन गराउने कुरामा ध्यान दिनुपर्ने बताए ।

‘सधैँभरी सडकबाट जनमत प्राप्त गर्ने कुरा हुँदैन । युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिल्यै पनि विकास र सम्मृद्धिको यात्रामा जान सक्दैन’, पोखरेलले भने, ‘त्यसअर्थमा हामी संविधानतिर फर्कनै पर्दछ । त्यसका लागि तोकिएकै समयमा निर्वाचन गर्नुपर्छ ।’

उनले नेकपा एमाले अहिले उठेका प्रश्नको उत्तर दिन सक्षम भएको दाबी गर्दै युवाहरूको भावनालाई सम्बोधन गर्न, परिवर्तनको आकाङ्क्षालाई बोक्न र मुलुकको नेतृत्व गर्न सक्षम भएको बताए ।

पोखरेलले एमाले फेरि उठ्ने बताए ।