Bagmati Samachar Logo

जेनजीले छानेको व्यक्तिकै नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन जीले छानेको व्यक्ति कै नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको बताएका छन् । उनले शुक्रबार समाजिक सञ्जाल मार्फत उक्त कुरा बताएका हुन् ।

उनले २३ भदौमा जेन जीले घटाएको घटनामा पार्टीका तर्फबाट माफी मागेका छन् । उनले त्यस दिन अकल्पनीय घटना भएको उनले बताए । उनले भनेका छन्, ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो, तपाईं र म सरकारमा थिएनौं तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ । कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ ।’

उनले हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ, अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौं साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानु पर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘ जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ । तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको माग रहन्छ । भदौ २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटना छन्, क्रुर घटना प्रत्येकको छानबिन र जोसुकै होस् त्यसले कानुनअनुसार कारबाही हुनुपर्छ ।’

पुनर्निर्माणको पहलकदमी कांग्रेसले लिनुपर्ने उनले बताए । विगतमा पनि घाउचोटलाई बिर्सेर कांग्रेसले माओवादीसँग हात मिलाएको उल्लेख गर्दै उनले फेरि कांग्रेसको जिम्मेवारीमा यस्तै पहल चाहिएको उल्लेख गरे । उनले भने, ‘उत्तेजना फैलाउने होइन, सबैलाई जोड्न साथीहरूले पहल लिनुहोस् ।’

अहिलेको स्थितिबाट देशलाई बाहिर ल्याउन कांग्रेसले पहल गरिरहेको उनले दाबी गरे । जेनजी राखेको मागलाई सम्बोधन गर्नुपर्ने उनले बताएका छन् । अन्तरिम सरकार बनाउन कांग्रेसले पहल गरिहेको उनको भनाइ छ । अन्तरिम सरकारलाई २०७२ सालमा जारी भएको सरकारसँग जोडिएन भने त्यसले स्थायी समाधान दिन नसक्ने थापाले बताएका छन् ।

२०४६ पछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानविन गर्न तयार हुनुपर्ने उनले बताए ।