Bagmati Samachar Logo

सामाजिक सञ्जालबारे निर्णय लिन सञ्चार मन्त्रालयमा बैठक जारी

काठमाडौं । फेसबुकलगायतका सामाजिक सञ्जालाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातबाट सकिएको छ । यसबारे थप निर्णय लिन अहिले सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ ।

दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले फेसबुकमार्फत जानकारी दिएकाछन् ।

उता मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्कासँगै नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठक जारी रहेको छ ।

बैठकमा सामाजिक सञ्जाल निष्क्रियका लागि के कसरी र कुन प्रक्रियामा अघि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल नेपालमा यसअघि ने सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

पटक पटक सूचिकरण हुन आउन भनेपनि ती संस्थाहरु अहिलेसम्म सूचिकरण अथवा दर्ता हुन आएका छैनन् ।