चर्को आलोचनापछि ‘फास्ट ट्रयाक’मा अघि बढ्यो रास्वपा नेताविरुद्धको मुद्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेविरुद्धको मुद्दा ‘फास्ट ट्रयाक’ अघि बढाइएको छ ।
सार्वजनिक रुपमा र सामाजिक सञ्जालमा चर्को आलोचनापछि पाँडेको मुद्दा फास्ट ट्रयाकमा आजै अदालतमा सुनावाई हुुँदै छ ।
विद्युतीय कारोबार ऐनअनर्गतको कसुरमा बुधबार पक्राउ परेका पाँडेलाई बिहीबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर, उस्तै प्रकृतिको कसुरमा एमालेका केन्द्रीय सदस्यत ऐन महरलाई हाजिरी जमानीमा रिहा गरेको र पाँडेलाई हिरासतमा पठाएको भन्दै आलोचना भइरहेको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेको छ । सो मुद्दामा अहिले बयान जारी छ । बयानपछि आजै थुनछेक बहस हुनेछ र उनलाई पुर्पक्षका लागि कारागार पठाउने वा धरौटीमा छाड्ने आदेश आउनेछ ।
उनीविरुद्ध एक महिलाले सामाजिक सञ्जालमार्फत अपशब्द बोलेर गालीगलौज गरेको आरोपसहित साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्: