Bagmati Samachar Logo

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको छ ।

हालका आईजीपी दिपक थापाको कार्यकाल १८ गते राति १२ बजेदेखि सकिदै छ ।

प्रहरी ऐन र नियमावलीअनुसार वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावलीमा उल्लेख ३० वर्षे सेवा अवधिका कारण उनी १८ भदौ राति १२ बजेबाट अनिवार्य अवकाश हुनेछन् । उनी अवकाशमा जाने भएपछि ३२औं आईजीपीका लागि प्रतिस्पर्धाको बाटो खुलेको हो ।

खापुङ ३२ औं आईजीपीका लागि आफ्नो ब्याचको एकल प्रतिस्पर्धी थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को निर्देशक (एआईजी) को जिम्मेवारीमा रहेका छन् ।

आफ्नो ब्याचका एकल प्रतिस्पर्धी खापुङ आईजीपी बनेको अवस्थामा उनी प्रहरीको इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहन सक्ने सम्भावना छ । उनको पालामा पनि नयाँ ऐन जारी नभएको अवस्थामा विद्यमान प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन् ।

२ महिना ९ दिनका लागि उनी आईजी बन्ने सम्भावना रहन्छ । यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरण शमशेर जबरा प्रहरी प्रमुख बनेका थिए । २८ चैत २०१२ मा आईजीपी बनेका उनी ३१ चैत २०१२ सम्म आईजीपी बनेका थिए ।