Bagmati Samachar Logo

जनताको लोकतन्त्र बनाउन सकिएन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जनताको लोकतन्त्र बनाउन नसकिएको बताएका छन् ।

शहीद प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले लोकतन्त्रलाई जनताको लोकतन्त्र बनाउने भनेका थियौ तर बनाउन नसकिएको बताएका छन् । उनले भने,‘ किसानले समयमा मल विउ पाएको छैन । आफ्नो उत्पादनको मूल्य पाएको छैन । काठमाडौं गएर आन्दोलन गर्नु परेकोछ । यदि यो जनताको लोकतन्त्र भइदिएको भए आन्दोलन गर्नु पर्दैन थियो ।’

शिक्षा र स्वाथ्य राज्यको लगानीमा हुनु पथ्र्यो तर त्यो पनि नभएको शर्माले बताए । उनले भने, ‘शिक्षा अधिकार प्राप्त गर्ने अधिकार नागरिकले पाउनु पथ्र्यो । तर राज्यले गर्न सकेन । स्वाथ्यको क्षेत्रमा विमारीले बाच्न पाउने सुनिश्चिता हुनु पथ्र्यो । एउटा अस्पतालमा जानु पर्दा लाखौको विल आउछ । जनताले बाच्न पाउने भन्दा पनि सम्पतिको कुरा प्रमुख भयो ।’

विगतबाट शिक्षा लिएर पार्टी निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

उनले अब पुराना पुस्तालाई गाली गरेर कुनै फाइदा नभएको बताउँदै विगतबाट शिक्षा लिएर जनाताको पार्टी निर्माण गर्नुपर्ने बताए ।

शर्माले भने, ‘अब पुराना पुस्तालाई गाली गरेर होइन, विगतबाट शिक्षा लिएर जनताको पार्टी बनाउनुपर्छ । यसका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकीकृत बनाएर लैजान निरन्तर अभियान चलाउनुपर्छ ।’

शर्माले २०७४ सालमा नेकपा गठन हुँदा नेता –कार्यकर्तामा निकै उत्साह देखिएको तर नेताहरूको स्वार्थका कारण चिसो पानी खन्याइएको आरोप लगाए ।

उनले भने, ‘पार्टी आज पार्टी जस्तो बनाउन सकेनौँ । पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउन सकेनौँ । पार्टीमा जो मन पर्छ त्यसलाई राख्छौँ । शासनलाई सेवाको रूपमा बदल्न सकेनौँ । किसानको मर्म हामीलाई थाहै छैन । हरेक पार्टीमा स्पष्ट नीति नै छैन । सुशासन र पारदर्शीको कुरा भाषणमा मात्र सिमित छ । वास्तविक व्यवहारमा देखिएको छैन ।’