Bagmati Samachar Logo

जनार्दन शर्माले नपत्याएर मलाई कुनै असर पदैन, पार्टी रोकिँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले नपत्याउदैमा आफू र पार्टीलाई कुनै असर नपर्ने बताएका छन् । अध्यक्ष प्रचण्ड
र उपमहासचिव शर्माबीच वाकयुद्ध उत्कर्षमा पुगेको छ ।

पार्टीको कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन बिहीबार बिहान विराटनगर पुगेका प्रचण्डले ‘एक जना प्रभाकरले आफूलाई नपत्याउँदैमा केही नहुने’ बताएका छन् ।

विमानस्थलमा तपाईंलाई आफ्नैले पत्याएका छैनन् नि भन्ने पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले भने, ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन। यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ।’

पछिल्लोपटक प्रचण्डले आफूले खाँबो थामेजस्तो लाग्ने, आफूले छाडेका दिन गल्र्यामगुर्लुम ढल्छ जस्तो लाग्ने बताएका थिए।

उनलाई जबाफ दिने क्रममा जनार्दनले पनि शेषनागले पृथ्वी थामेको भ्रम पालेजस्तो कसैले पनि महसुस गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

गत वर्ष साउनदेखि चलेको प्रचण्ड र शर्माबीचको दुई लाईन संघर्ष साम्य भएको छैन । झन झन बढ्दै गएको छ ।

पत्रकारहरुले विवाद चर्काउने गरी प्रश्न सोध्ने गरेको गुनासो गर्दै उनले थपे, ‘तपाईँहरु यसलाई चर्काउने ढंगले प्रश्न गर्न जरुरी पनि छैन। हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा उहाँले के भनेको त्योबारे पनि हामी फेरि छलफल गर्नेछौं।’

प्रचण्डले बारम्बार पार्टीभित्र स्वार्थ समूहहरू रहेको बताउँदै आएका छन्। ती स्वार्थ समूह को हुन् भनेर प्रचण्डलाई पत्रकारहरूले विराटनगरमा प्रश्न गरे।

यसको उत्तर दिने क्रममा पनि निशाना जनार्दनतिरै सोझ्याए।

‘अब स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नु पार्टीकाविरुद्ध गतिविधि गर्नेलाई भनिएको हो।’

उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पछिल्लो समय लगातार चुनौती दिइरहेका छन्।

अर्को प्रसंगमा प्रचण्डले लिपुलेक विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भावी कदम हेर्नुपर्ने बताएका छन्।

‘हामीले यो विषयलाई गम्भीर ढंगले लिएका छौं’, उनले भने ‘देश भित्र पनि र बाहिर छिमेकीहरुसँग भारतमा जाँदा पनि चीन जाँदा पनि यो समस्या समाधान नगरिकन हाम्रो छिमेकीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन भनेका छौं।’

आफू पछिल्लो पटक प्रधानमन्त्रीको रुपमा भारत जाँदा भारतीय प्रधानमन्त्री मन्त्री मोदी र आफूले प्रेस ब्रिफिङमा सिमानाको विषय चर्चा गरेको र प्रधानमन्त्री मोदीले पनि अब यो सिमानाको समस्यालाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गरेको बताए।