Bagmati Samachar Logo

इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई कारबाही नहुने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने बताएको छ । १ असोजबाट अनिवार्य इम्बोस्ट नम्बर प्लेट अनिवार्य गरेको सरकार एक कदम पछि हटेको छ । उसले एक विज्ञप्ती निकालेर इम्बोस्ड नम्बर प्लेट नजोडेपनि जरिवाना नहुने बताएको छ ।

विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वतः स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्ड–जरिवाना लाग्ने कुरालाई निराधार हो । यस्तो भ्रममा नपर्नु ।’

‘इस्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनमा क्रमश–जोड्दै लैजाने निर्णय भएको पनि बताएको छ । तर २०८२ साल १ असोजदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा गर्ने भन्ने कुरा गलत भएको बताएको छ । विज्ञप्तीमा भनिएको छ , ‘मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने सत्य होइन । तत्काललाई कुनै किसिमको दण्ड–जरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ । सरकारले सबै क्षेत्रलाई डिजिटलाइज गर्दै गएको र यातायात क्षेत्रलाई पनि क्रमशः डिजिटलाइज गर्दै जानुपर्ने भन्दै विभागले स्वफुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी सहयोग गर्न अनुरोध गरिन्छ ।’

विभागका महानिर्देशक राजिव पोखरेलद्वारा मंगलबार एक विज्ञप्तिमा जारी गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभाग एवं प्रदेश कार्यालयहरूमा सेवाग्राहीको सहजताका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागिरहेको विभागको भनाइ छ ।

इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको अंग्रेजी लिपीबारे समेत विभागले प्रष्टिकरण दिएको छ ।

ठेक्का सम्झौतामा उल्लेख भएबमोजिम सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत त्रुटी नदेखाइएको भन्दै विभागले त्यसलाई उचित भनेको छ ।

सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतमा समेत अंग्रेजी लिपी प्रयोग भएको विभागले स्मरण गराएको छ ।