राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने सम्भावनाबारे छलफल भएको छ।
राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच आर्थिक सहकार्य विस्तारका लागि ठूलो सम्भावना रहेको बताउँदै यसलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको बताएका छन् ।
‘नेपाल अहिले कृषि, पर्यटन, उत्पादन र जलविद्युत क्षेत्रमा लगानीमार्फत आर्थिक–सामाजिक रूपान्तरणमा केन्द्रित छ,’ उनको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
राष्ट्रपति पौडेलले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गरेकोमा प्रशंसा गरे। उनले बौद्ध धर्मले दुई देशका जनताबीच गहिरो सम्बन्धको सेतुको रूपमा काम गरेको र लुम्बिनीलाई भियतनामीहरूले पवित्र तीर्थस्थलका रूपमा हेर्ने गरेकोमा खुशी व्यक्त गरे।
भियतनामकी उपराष्ट्रपति सुआनले नेपालको सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र भियतनामको सन् २०४५ सम्म उच्च आय भएको मुलुक बन्ने लक्ष्यलाई जोड्दै सन् २०३० अघि नै दुई देशबीच वृहत सम्बन्धको ढाँचा तयार गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्।
उपराष्ट्रपति सुआनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति स्थापना र जलवायु परिवर्तनप्रति देखाएको प्रतिबद्धताबाट आफू प्रभावित भएको समेत उल्लेख गरेकी थिइन्।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्। आज स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: