Bagmati Samachar Logo

जीबीका जेठान बमजन सुटुक्क अदालत आए, १० लाख धरौटीमा छुटे

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईका जेठान ज्ञानबहादुर बमजन १० लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्।

लामो समयदेखि फरार रहेका ज्ञानबहादुर आइतबार एकाएक कास्की जिल्ला अदालतमा आत्मसमर्पण गर्न आइपुगेका थिए। सूर्यदर्शनका पूर्वअध्यक्ष रहेका ज्ञानबहादुरले आत्मसमर्पण गरेसँगै आइतबार थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश शंकरकुमार राईको एकल इजलासले ज्ञानबहादुरलाई १० लाख धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो।

कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यका अनुसार बमजनले आइतबार नै १० लाख धरौटी बुझाएका छन्।
थुनछेक बहसको क्रममा ज्ञानबहादुरले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको इन्कारी बयान दिएका थिए। जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा ज्ञानबहादुर सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८ सय ३९ रुपैयाँ अपचलन गरेको जिकिर गरिएको छ। त्यसका साथै सहकारीबाट अपचलन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि छ।

अदालतमा सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बमजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए।