भियतनामबाट भैरहवा र पोखरा विमानस्थलमा उडानको वातावरण बनाउन परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री आरजु राणा देउवाले भेटवार्ता गरेकी छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआनसँग मन्त्री राणाले भेटवार्ता गरेकी हुन्।
भेटका क्रममा मन्त्री राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन्।
मन्त्री राणाले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन्।
उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसंग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन्।
पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिँदै मन्त्री राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।
मन्त्री राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरिन्।
त्यसैगरी उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस्: