Bagmati Samachar Logo

पूर्वराष्ट्रपति विद्या भण्डारी प्रति ओलीको कटाछ : चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नु भएको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चुनाव हारेकाहरुको जमात जम्मा पारेर कुदिरहेको बताएका छन् । पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि पार्टीभित्र चुनाव हारेका र असन्तुष्टहरूलाई बोकेर हिँड्ने काम गरेको बताए ।

उनले भने, ‘पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने, र पार्टीका विभिन्न जनसंगठनका चुनाव हारेका मान्छेहरू असन्तुष्ट भएका मान्छेहरू तिनलाई भेला गरेर असन्तुष्टहरूको जमात खडा गरेर कुदिराख्नु भएको छ ।’

ओलीले भण्डारीले राष्ट्रपति हुँदा आफैंले सदस्यता छोडेको बताएका छन् । उनले भने, ‘खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो ।’

‘ओलीले भण्डारीको पार्टी सदस्यता नै नभएकाले पार्टीले खोस्ने कुरा नभएको बताएका छन् । उनले भने, ‘पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन । सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन । बाहिर टेलिभिजनले दिने त होइन होला ?’

ओलीले दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा पार्टी सदस्यता नवीकरण नहुने बताए ।

उनले भने, ‘कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ?’

राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या सिर्जना हुन्छ भन्ने कल्पना समेत नगरेको पनि ओलीले बताए ।