विद्यालय शिक्षा विधेयकमा माओवादीले राखेका फरक मतका ५ बुँदा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयकमा फरक मत राखेको छ । पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले दलको तर्फबाट ५ बुँदामा फरक मत दर्ता गरिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले फरक मतसहित प्रतिवेदन पारित गरेको थियो ।
बिहीबार दर्ता गरिएको फरक मतमा माओवादी केन्द्रका तर्फबाट पौडेलसहित, महिन्द्र राय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले हस्ताक्षर गरेका छन् ।
यस्तो छ माओवादी केन्द्रले दर्ता गरेको फरक मतः
१. प्रारम्भिक बाल विकास तथा शिक्षाका सन्दर्भमा साबिक बाल विकास सहयोगीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी प्रतिस्पर्धा गर्न दिने र प्रतिस्पर्धामा अनुत्तीर्ण हुनेहरूलाई सेवा अवधिका आधारमा आर्थिक सहुलियत दिनुपर्ने ।
२. यो ऐन प्रारम्भ भए पछि नियुक्त हुने प्रारम्भिक बाल विकास तथा शिक्षामा अध्यापन गर्ने व्यक्तिहरूलाई बाल विकास शिक्षकका रूपमा उल्लेख गरिनुपर्ने र उहाँहरूको वृत्ति विकास सम्बन्धी व्यवस्था विधेयकमै व्यवस्था गरिनुपर्ने । प्रारम्भिक बाल विकास तथा शिक्षा देखि कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मान्नुपर्ने ।
३. निजी लगानीका विद्यालयहरूले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले गरेको निर्णय बमोजिम समावेश गर्ने। शहीद, बेपत्ता, घाइते तथा विपन्न परिवारका विद्यार्थीहरूलाई आवास र पोसाकको समेत व्यवस्था गर्नुपर्ने । सो सम्बन्धी व्यवस्थाको जिम्मेवारी नेपाल सरकारको हुनेछ ।
४. सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधि (बुवा वा आमामध्ये दुवै भएको वा एक जना भएको) का सन्ततिहरूलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषय विधेयकमा उल्लेख गरिनुपर्ने ।
५. नेपाल सरकारले नेपाल शिक्षक महासङ्घसँग सहमति गरी विगतमा गरेका सम्झौताहरू पालन गरिने गरी विधेयकमा आवश्यक विषयहरू समावेश गरिनुपर्ने ।
प्रतिक्रिया दिनुहोस्: