१० लाख धरौटी बढी भयो भनेर उच्च अदालत पुगेकी ऋषिकेशकी श्रीमति अञ्जलासँग उच्चले माग्यो एक करोड
काठमाडौं । सहकारी ठगीको अभियोगमा सार्वजनिक लेखा समितिका सभापति एवम् एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमति अञ्जला कोइरालासँग उच्च अदालत विराटनगरले एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।
मोरङको धनपालथानस्थित उमागौरी सहकारी ठगीमा संलग्न रहेको अभियोगमा यसअघि जिल्ला अदालत मोरङले अञ्जलालाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
यसअघि वैशाख ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासमा राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासबाट आदेश भएको हो।
बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालले पुडासैनी र बास्तोलाले दिएका आधा आधा रायमा सहमति जनाउँदै आदेश जारी गरेका हुन्।
जिल्ला अदालत मोरङले २०८१ पुस २४ गते अञ्जलासँग १० लाख धरौटी माग गरेको थियो। सहकारी ठगीमा फरार रहेकी कोइराला त्यसैदिन अदालतमा हाजिर भएकी थिइन्।
१० लाख धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध उनले पनि उच्च अदालत विराटनगरमा निवेदन दिएकी थिइन्। आफूलाई १० लाख धरौटी माग गर्ने आदेश बदर गर्दै साधारण तारेखमा राख्न उनको माग थियो।
अन्य प्रतिवादीहरू पनि जिल्लाको आदेश बदर गरेर साधारण तारेखमा राख्न माग गर्दै उच्च पुगेका थिए। सरकारी वकिलले भने सबैलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।
जिल्ला अदालतले थुनामा पठाएका रोशन राजवंशीलाई पनि एक करोड धरौटी लिएर रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।
यसअघि जिल्लाबाट १० लाख धरौटी माग गर्ने आदेश भएकी अञ्जला कोइराला, ५–५ लाख धरौटी माग गर्ने आदेश भएका ज्योति बास्कोटा र सन्तलाल खवासलाई पनि एक एक करोड धरौटी पुगेको छ।
लक्ष्मी कार्की, सुमन लोहनी र मनोज सोनुको हकमा भने जिल्लाकै आदेश उच्चबाट सदर भएको छ। जिल्लाले कार्कीसँग ५० हजार, सुमन लोहनीसँग २ लाख र मनोज सोनुसँग एक लाख धरौटी माग गर्ने आदेश गरेको थियो।
तर अन्य प्रतिवादीहरूको हकमा भने केशवप्रसाद बास्तोलाको राय अनुसार आदेश भएको हो। न्यायाधीश बास्तोलाले रोशन राजवंशीलाई थुनामा राख्ने आदेश बदर गर्दै एक करोड धरौटी माग गर्ने, अञ्जला कोइरालालाई १० लाखबाट बढाएर एक करोड माग गर्ने, ज्योति बास्कोटा र सन्तलाल खवासलाई पनि एकरएक करोड धरौटी माग गर्ने राय दिएका थिए। न्यायाधीश अर्यालले यही रायमा सहमति जनाउँदै आदेश जारी गरेको छ ।
न्यायधिस बास्तोलाले लक्ष्मी कार्की, सुमन लोहनी र मनोज सोनुलाई धरौटी बढाएर २५–२५ लाख माग गर्नु पर्ने राय दिएका थिए। उनीहरूको हकमा भने बास्तोलाको रायमा न्यायाधीश अर्याल सहमत भएनन्।
मोरङ धनपालथान ४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अञ्जला सहकारीको तत्कालीन सञ्चालक समिति सदस्य हुन्।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले २०८१ मंसिर २७ गते सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।
प्रतिक्रिया दिनुहोस्: