Bagmati Samachar Logo

एमाले भन्दा मेरो राजनीति यात्रा जेठो हो : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले भन्दा आफ्नो राजनीति यात्रा जेठो भएको बताएकी छन् । एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको हिसाबले आफू जेठो भएको बताएकी छन् ।

बिहीबार काठमाडौंको थापागाउँमा मदन भण्डारी हिरकमहोत्वस आयोजनाको सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु । म पनि राजनीतिक दलसँग आबद्ध भएर काम गर्दा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन । म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं । विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं ।’

उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि बताइन् । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) भएको भण्डारीको भनाइ छ ।
उनले भनिन्, ‘एमाले भनेको एकदमै के हो भन्ने परिरहेको होला । एकीकृत मार्क्सवादी, लेनिनवादी हो । कम्युनिस्ट पार्टीले आफ्नो अगाडि एउटा उपमा झुन्ड्यायो । हामी मार्क्सवाद, लेनिनवाद मान्छौं भनेका हौं । मार्क्सवादी भन्ने छुट्टै पार्टी थियो, माले भन्ने छुट्टै थियो । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको हो ।’

उनले अघि थप भनिन्, ‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ । खासमा नेकपा हो । नेपाल कम्युनिस्ट पार्टी ।’

एमालेले केन्द्रीय कमिटी बैठकबाट भण्डारीको पार्टी सदस्यता खारेज गरिदिएको छ । तर उनले आफू एमालेमा सक्रिय रहेको बताउदै आएकी छन् ।