Bagmati Samachar Logo

जबजलाई क्षतिग्रस्त हुने गरी कुरा गर्न सक्छन्, अघि बढ्नुको विकल्प छैन : इश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विषयमा अनेक टिकाटिप्पणी हुन थालेको भन्दै आपत्ति जनाएका थिए।

मदन भण्डारी ७५औं जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले जबज प्रतिकूलतासँग लडेर आएको विचार भएकोले सोहीअनुसार नै जानुपर्ने अवस्था अहिले पनि रहेको बताएका हुन्।

उनले भने, ‘जननेता मदन भण्डारी र उहाँले प्रतिवादन गर्नु भएको जनताको बहुदलीय जनवाद यो विचार शान्त तलाउमा ढुंगा चलाए जस्तो सलल चलेर आएको होइन। प्रतिकूलताहरूसँग लडेर आएको हो । यो विचारलाई क्षतिग्रस्त हुने गरी कुराहरू उठाउन सक्छन्। हामीले यो चिजलाई ख्याल गरिएन गर्नुपर्छ। विचार कुन जगमा उभिएको छ। कुन पृष्ठभूमिमा उभिएको हो ख्याल गर्नुपर्छ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सामिप्यतामै मदन भण्डारी फाउन्डेसन झाँगिँदै आएको बताए।

त्यस्तै पोखरेलले मदन भण्डारीको विचारलाई विश्वमन्चमा पुर्‍याउने काम यो फाउन्डेसनले गर्नुपर्ने बताए। उनले भने , ‘जननेता मदन भण्डारीको विचारलाई चीर स्थायीत्व दिनका लागि यस फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । अहिले यही शिशिलामा ७५औं जन्मजयन्ती मनाउन कमिटी बनाइएको छ। व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको छ। उद्देश्यअनुरुप काममा सफलता पाओस्।’

उनले थपे, ‘जबजबारे म भन्नु चाहन्छु–आँधी तुफानसँग जुध्दै पराजित गर्दै अगाडि स्थापित भएको विचार हो। यो विचारको सुदृढीकरण जननेता मदन भण्डारीले सुरु गर्नु भएको हो। उहाँले कम्युनिस्ट आन्दोलनको जगमा यो विचार उठेको हो।’

उनले एमालेले जबजलाई भूल्नै नहुने पनि बताए। उनले भने, ‘यसलाई नेकपा एमालेका कसैले पनि भुल्न हुँदैन। यो वैज्ञानिक उन्नत विचार हो। जनताको बहुदलीय जनवाद एमालेको मात्रै होइन देश बनाउने विचार हो, राष्ट्रियताको विचार हो, पुस्तान्तरण र नेतृत्व हस्तान्तण गर्ने विचार हो ।’